पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस
इलाम । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै इलामका युवा र विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन्। उनीहरूले आज (बुधबार) साँझ इलाम बजारमा मसाल जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।
अनेरास्ववियु र युवा संघको अगुवाईमा युवाले मसाल जुलस प्रदर्शन गर्दै इलाम बजार परिक्रममा गरेका छन् । उनीहरूले पेट्रोलियम र खाद्यान्नको बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
माग पूरा नभए चक्काजामसम्मका विरोध कार्यक्रम गरिने अनेरास्ववियुका नेता मिलन खत्रीले जानकारी दिए । ‘पेट्रोलियममात्र होइन, सबैखाले उपभोग्य वस्तुको अचाक्ली बढेको मूल्य फिर्ता हुनुपर्छ,’ उनले भने, ‘विभिन्न बहानामा अहिले पेट्रोलियमलगायत सबैखाले उपभोग्य वस्तुको मूल्य बढाइएको छ । यो कसैलाई मान्य छैन ।’
मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले यसअघि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । उनीहरूले मोटरसाइकल लडाएर सांकेतिक विरोधसमेत जनाएका थिए ।