झापामा ६६ प्रतिशत मत खसेको अनुमान
बिर्तामोड । आज सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक जानकारी अनुसार झापामा ६६ प्रतिशत मत खसेको छ । केहि पालिकाहरुबाट प्राप्त तथ्याङ्क जोड्ने क्रम जारी रहेको जनाउँदै करिब ६६ प्रतिशत मत खसेको हुन सक्ने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको हो ।
झापाका ७५५ मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । बिर्तामोडको वडा नम्बर ४ को विद्युत प्राधिकरण शाखा कार्यालय बिर्ताबजारमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मत पत्र पाइएपछि केहि समय मतदान स्थगित भएको थियो । करिब डेढ घण्टा मतदान अवरुद्ध भएपनि समयमा नै मतदान सम्पन्न भएको उनले बताए । बाँकी स्थानहरुमा विवादरहित अवस्थामा मतदान कार्य सम्पन्न भएको कार्यालय प्रमुख नेपालले जानकारी दिए । अहिले मतपेटिकाहरु संकलन कार्य जारी रहेकाले आजै रातिबाट मत गणना सुरु गरिने कार्यालयले जनाएको छ ।