विकासे नेताको छवि बनाएका सिपी कडरिया
समाजमा केहि मानिस कामै नगरी फुर्ति लगाउँछन् भने कोहि मानिस गुमनाम काम गरिरहन्छन् । हल्ला गर्नेहरुलाई सिमितले चिन्छन् भने काम गर्नेहरुलाई धेरैले । त्यसै मध्येका एक हुन सिपी कडरिया । शहर बजारमा भन्दा कडरियाको चर्चा गाउँमा छ । विर्तामोड नगरपालिका क्षेत्रभित्र पनि यस्ता दुर्गम ठाउँ छन् जहाँ निर्वाचित भएको ५ वर्षसम्म नगरको नेतृत्व पुग्नै सकेनन् पुगेपनि विकासका योजना लैजानै सकेनन् । तसर्थ पनि नगरका प्रमुख उपप्रमुखको भन्दा बढी चर्चा र माया बटुल्न कडरिया सफल भएका हुन् । उनी बिर्तामोड नगर क्षेत्रभित्रका गाउँबस्तीमा विकासे नेताका रुपमा चिनिन्छन् ।
अहिलेसम्म कुनै सार्वजनिक पद धारण नगरेका कडरिया गाउँमा अझ विकासका योजना लैजान चाहन्छन् । जसका लागि जनताले जिम्मेवारी दिउन भन्ने अठोटका साथ उनी स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उपमेयरको उम्मेदवारी दिएका छन् ।
सार्वजनिक पदमा पुग्न नपाएपनि बिर्तामोडमा मात्र नभएर जिल्लाकै विकास निर्माणमा योगदान दिएका उनले गाउँ बस्तीमा बाटो, विजुली, सिंचाइ, पुल कल्भर्ट, नदी नियन्त्रण, विद्युत विस्तार जस्ता धेरै योजना भित्र्याएका छन् । जनताको समस्या बुझेर विभिन्न निकायबाट बजेट ल्याउन सक्ने क्षमता भएकै कारण उनी गाउँघरमा लोकप्रिय छन् ।
गाउँमा सिंचाई योजना ल्याएर कृषि उत्पादनमा सहजता प्रदान गरेको भन्दै बिर्तामोड ७ का जनता कडरियालाई विकासे नेताका रुपमा चिन्छन् । कडरियाले बिर्तामोड वडा नं. ७ फक्तालुङ नजिकै बंगुरभिट्टा सिंचाई योजना पुर्याएका थिए ।
बिर्तामोड ८ मा देउनीया खोला नियन्त्रणसँगै व्युटिफिकेसन र हात्ती नियन्त्रणका लागि डिपीआर तयार गरेका कडरियालाई त्यहाँका जनताले जनप्रतिनिधि भएको हेर्न चाहेका छन् । घरघर र टोलटोलमा बिजुली बत्ति पुर्याएर झलमल्ल बनाईदिएपछि बिर्तामोड ३ का बासिन्दा दंग छन् । वडा नम्बर १० मा पनि कडरियालाई सम्झने र माया गर्ने साइनो उहि विकास निर्माणको हो । बिर्तामोड २ मा बिद्युत विस्तारमा सहयोग गरेका कडरियालाई धेरैले माया गर्छन ।
निर्वाचन प्रचार प्रसारका क्रममा फक्तालुङ टोलमा पुगेका उनलाई नजिकै रहेको सिताराम टोलमा पनि सिचांईको व्यवस्था गरिदिन आग्रह गरे । आफूलाई निर्वाचित गरेर थप जिम्मेवारी दिन आग्रह गर्दै कडरियाले निर्वाचित भएपनि नभएपनि सिताराम टोलमा सिंचाई र पग्लिभट्टी बुट्टाबारी बाटो कालोपत्रे गर्ने प्रतिवद्धता समेत जनाए । साथै हात्ती नियन्त्रण, देउनीया नदी नियन्त्रण जरुरी रहेको जनाउँदै नदी आसपासमा ब्युटिफिकेसनको डीपीआर समेत तयार भइसकेको जानकारी दिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीका तर्फबाट विर्तामोड नगरपालिकाको मेयर पदको उम्मेदवार बनेका कडरिया करिव ४ हजार मत ल्याएर पराजित बनेका थिए । उनको पहलमा साढे १० लाख रुपैयाँको लागतमा बिर्तामोड नगरपालिकाको वडा न ३, ४ र ९ मा बत्ति नभएको ठाउँमा तारसहित २७ वटा नयाँ पोल र ३१ वटा पोलमा फोर फेजको लाइन जडान गरिएको थियो जसबाट ३ सय घरधुरी लाभान्वित भएका छन् ।
त्यस्तै बिर्तामोडको एकता टोलमा साढे १२ लाख रुपैयाँको लागतमा ११ हजार केभी क्षमताको बिद्युत विस्तार र मर्मत सुधारको काम भएको थियो भने शहिद राममार्ग (हर्कलाल मार्ग) मा हाईटेन्सन लाइन र १ सय केभीको ट्रान्सफर्मर जडान गर्न आफूले नै पहल गरेको कडरिया बताउँछन् । झापामा ९ वटा ट्रान्सफर्मर जडान गर्नका लागि आफ्नै भूमिका रहेको उनको दावी छ ।
बिद्युतीकरणसँगै सडक, सिंचाई, खानेपानी, स्वास्थ्यलगायतका क्षेत्रमा पनि युवा नेता कडरियाले योगदान दिएका छन् । सिंचाई र नदी नियन्त्रणका लागि करोडौको बजेट ल्याउन कडरियाले पहल गरेका छन् । अर्जुनधारा ११ मा ६ करोड भन्दा बढीको बजेटमा बंगुरभिट्टा सिंचाई आयोजनाको निर्माण सम्पन्न भएको छ । सो आयोजनाबाट बिर्तामोड ६ र ७ का लगभग ३ सय बिगाह जमिनमा सिंचाई सुविधा पुगेको बताइएको छ । त्यस्तै ६ करोड ७४ लाख रुपैयाँको लागतमा हर्चना तीनमुखे पैनी सिंचाई आयोजना पनि सम्पन्न भएको छ । सो आयोजनाका लागि आफूले नै पहल गरेको कडरियाले बताए । त्यस्तै उनकै पहलमा बिर्तामोडमा चारवटा सामुदायिक स्वास्थ्य इकाई संचालन भएको हो । शहीद चन्द्रमार्ग, बुट्टाबारी दक्षिण जाने बाटोलगायतका सडकको स्तरोन्नति गर्नका लागि आफूले सहयोग गरेको उनले बताए । त्यस्तै नदी नियन्त्रणमा पनि उनको सहयोग रहँदै आएको छ । अधुवा, देउनिया, घाग्रालगायतका नदी नियन्त्रणमा उनले सहयोग गरेका थिए । पदमा नरहेर यति धेरै काम गर्न सफल कडरियाले गठबन्धनका तर्फबाट बिर्तामोड नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका छन् । कुनै सार्वजनिक पदमा नबसी आफ्नै बलबुताले यति धेरै योजना ल्याउन सफल नेता कडरिया निर्वाचित जनप्रतिनिधि बनेर काम गर्ने ध्येयका साथ बिर्तामोड नगरपालिकामा उपप्रमुख पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।