बालबालिकाको हक सुरक्षित गर्न दलहरु प्रतिबद्ध
बिर्तामोड । संविधानले व्यवस्था गरेको बाल अधिकारको रक्षाका लागि झापाका राजनीतिक दलहरु प्रतिबद्ध रहेको बताएका छन् । विहिबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै झापाका राजनीतिक दल प्रमुखहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘स्थानीय निर्वाचनको सन्दर्भमा बालमैत्रीका सवालहरु बिषयक’ अन्तरक्रियामा बोल्दै राजनीतिक दलका झापाका प्रमुखहरुले संविधानले व्यवस्था गरेको बालबालिकाका हक अधिकारहरुलाई सुरक्षित गर्न र व्यवहारमा कार्यान्वयन गर्न लागि पर्ने बताए । स्थानीय निर्वाचन नजिकिएसँगै प्रथम बहुउद्धेश्यीय सहकारी संस्था र बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका अध्यक्ष अग्नी आचार्यले बालबालिकाको मनोविज्ञानमा असर गर्ने संस्कार बालबालिकालाई सिकाउन नहुने बताए । बालबालिकालाई नेतालाई आदर्श व्यक्तिको रुपमा सिकाउनुको साटो ‘बा’ जस्ता शब्दावलीले प्रतिबिम्बित गर्न नहुने धारणा व्यक्त गरे । आचार्यले संविधान र कानुननको मातहतमा रहेर पार्टीले आफ्ना कार्यक्रमहरुमा बाल बालिकाका हक र अधिकारलाई समेट्नु पर्नेमा जोड दिए । सामाजिक र भौगोलिक बनोटका आधारमा बाल व्यवहारमा फरक हुने बताउँदै आचार्यले सापेक्षतामा आधारित कार्यक्रम बनाउनु पर्ने बताए । उनले चुनावी गतिविधीमा नेकपा माओवादीले बालबालिकाको दुरुपयोग नगर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै नेकपा समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले पहिलेको तुलानामा बालबालिकाका सवालमा चेतना र पहुँच वृद्धि हुँदै गएको भन्दै बालमैत्रीका बिषयमा दलहरुलाई घच्घच्याएको भन्दै आयोजकलाई धन्यवाद दिए । बालमैत्रीका सन्दर्भमा आफ्नो पार्टीले घोषणा पत्रमा समेट्ने उद्घोष गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति देउकुमार थेवेले संविधानले व्यवस्था गरेका सबै हकको कार्यान्वयन गर्न दलहरुले सके सकेनन् भन्ने कुराको मनिटर गर्नु पर्ने बताउँदै सुखी नेपाली समृद्ध नेपाल जस्ता नारा नारामा मात्रै सिमित भएकी कार्यान्वयन भए अधिकारकर्मीहरुले अनुगमन गर्नु पर्ने बताए । उनले बाल हक अधिकारको बिषयमा नेपाली कांग्रेस प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
त्यस्तै, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य देवराज कार्कीले बालमैत्री अभियान घरबाट शुरु गर्नुपर्ने धारणा व्यक्त गरे । बालबालिकाको सर्वाङ्गिण विकासका लागि नेकपा एमाले सचेत रहेको बताउँदै आफ्नो पार्टीको घोषणा पत्रमा समेट्नु पर्ने केहि बिषय भए सुझाव दिन आयोजकलाई आग्रह समेत गरे ।