जग हल्लियो नेपाली सिनेमाको, डिजिटल मार्केट पनि ध्वस्त हुँदै
जग हल्लियो नेपाली सिनेमाको, डिजिटल मार्केट पनि ध्वस्त हुँदै

गतिलो सिनेमा निर्माणको अभ्यास हुँदै आएको हुँदो हो त, यतिबेला नेपाली सिनेमा ओटीटी (ओभर द टप) प्लेटफर्म मार्फत वैश्विक दर्शकमाझ पुगिरहेका हुन्थे । ओटीटीकै लागि धमाधम सिनेमा र सिरिजहरू बनिरहेका हुन्थे ।
तर, अवस्था यति रहरलाग्दो छैन ।
नेपाली सिनेमालाई वैश्विक स्तरको ओटीटी प्लेटफर्मले पत्याएकै छैन । सिनेमा हल बन्द छन् । ओभरसिज मार्केट ध्वस्त छ । विकल्प एउटै बाँकी छ, डिजिटल मार्केट ।
ओएसआर, बुढासुब्बा, हाइलाइट्स नेपाल जस्ता केही संस्थागत च्यानल छन्, जसमाथि नेपाली सिनेमाको आशा बाँकी छ । यही डिजिटल माध्यमबाट नेपाली सिनेमाले अब आफ्नो टाउको उठाउनेछ ?
यो प्रश्नको जवाफ खोज्नुअघि हालसम्मको हिसाब-किताब लेखाजोखा गरौं । सिनेमाको डिजिटल प्रतिलिपि खरीद गरेबापत कति पैसा दिने गर्छन् ? यही माध्यममा मात्र निर्भर रहँदा नेपाली सिनेमा उँभो लाग्न सक्ला ?
जग हल्लिएको बेला
सामान्य अवस्थामा वर्षेनि सय हाराहारीमा नेपाली चलचित्र प्रदर्शनमा आउने गर्थे । त्यसमध्ये आधा दर्जनले मात्र मुश्किलले मुनाफा आर्जन गर्थे ।
यही क्षेत्रमा रहेर निरन्तर चलचित्र बनाउने निर्माताको संख्या दर्जनको हाराहारीमा छ । बाँकी सबै निर्माता एक पटक कोशिश गरौं न भन्ने सोचका साथ मात्र आएका छन् । झन्, विगत डेढ वर्षदेखि कोरोना महामारीका कारण कोमामा रहेको नेपाली चलचित्र क्षेत्र कहिले कसरी उठ्छ भन्न सकिने अवस्था छैन । भूकम्पका कारण ६ वर्ष अगाडि थलिएको नेपाली चलचित्र क्षेत्र बल्ल उठ्दै थियो । तर, यसपटक पाँच दशकको यात्रामा नेपाली चलचित्र क्षेत्रले सबैभन्दा बढी पीडा भोगिरहेको छ ।
बलिउडले पनि भोगेको पीडा यही नै हो । तर, भारतमा ओटीटी प्लेटर्फमको विकाससँगै धेरै बलिउड चलचित्रका निर्माताले राहतको सास फेरे । हल बन्द भएको अवस्थामा करोडौं नाफामा बलिउडका अधिकांश चलचित्र बिक्री भए । केही महँगा बजेटका चलचित्रले हल कुर्नु बाहेक अन्य चलचित्रका लागि लामो पर्खाइ आवश्यक परेन । ओटीटी प्लेटर्फम भारतीय बजारमा वरदान नै सावित भैरहेको छ ।
नेपालमा पनि ओटीटीको शुरुआत नभएको होइन । पहिलो चरणको लकडाउनपछि ओटीटीलाई बलियो रूपमा अगाडि बढाउने सोचका साथ केही लगानीकर्ताहरू कस्सिए पनि । तर, करोडौंको लगानी हुने यो क्षेत्रमा लागिरहेका सीमित प्रतिशत दर्शकले मात्र ओटीटीलाई अगाडि बढाउन संभव हुने कुरै थिएन । ‘सिनेमाघर एप, चलचित्र टीभी’ लगायतका ओटीटी प्लेटर्फमले नेपाली चलचित्रलाई राहत दिन सकेनन् । चलचित्र टीभी आफैं कोमामा पुगेको अवस्था छ ।
सिनेमाघर एपले पनि हलमा रिलिज भइसकेका आधा दर्जन चलचित्रबाहेक नयाँ थप्न सकेन । सिनेमाघर एपका प्रमुख खगेन्द्र लामिछाने आफूहरूले नयाँ नयाँ चलचित्र किन्ने विषयमा सोचे पनि अहिले नै करोडौं लगानी गर्न सक्ने अवस्था नभएको स्वीकार गर्छन् । उनले, आफूहरूको एपमा दर्शकको संख्या उल्लेख्य बढेको दाबी गरे । तर, लकडाउनको समयमा फस्टाउनुपर्ने यी एपहरू खासै चम्किन सकेनन् । उसो भए, हलको विकल्प के त ? दर्जनौं चलचित्र र अरबौं लगानी उठाउने विकल्प के त ?
निर्माताका लागि हलको विकल्पमा अन्य माध्यम बन्न सकेका छैनन् । बलिउडमा जस्तो नेपालमा ओटीटी प्लेटर्फमबाट निर्माता सुरक्षित हुने अवस्था सिर्जना हुन अझै केही वर्ष पर्खिनुपर्ने अवस्था छ ।
हल बन्द, ओटीटी विकल्प नसक्नु र विश्व बजारलाई नै कोरोनाले आफ्नो चपेटामा पार्नुको कारणले गर्दा ओभरसिज बजार पनि बन्द रहनु ! चलचित्र निर्माण गरिसकेका निर्माता पुर्पुरोमा हात राखेर बस्नु र चलचित्रमै भविष्य खोज्नेहरू अन्धकारमा रुमल्लिनु बाहेक अरू विकल्प तत्कालीन अवस्थामा देखिंदैन ।
यस्तो समयमा डिजिटल बजारले नेपाली चलचित्रलाई सम्हाल्न सक्छ त भन्ने प्रश्न उठाउन सकिन्छ ।
डिजिटल मार्केटको भर
नेपालमा युट्युबमा चलचित्र हेर्ने क्रमको विकास भएसँगै केही युट्युब च्यानलहरूले यसमाथि करोडौं खर्च गरे । निर्माण नै नभएका चलचित्रमाथि केही युट्युब संचालकहरूले आफैं एड्भान्स रकम दिएर चलचित्र निर्माण भएको अवस्था छ । केही वर्ष अगाडिसम्म नेपालमा हाइलाइट्स नेपालको एकलौटी बजार थियो । नेपालमा निर्माण भएका महँगादेखि सस्ता सबै खालका चलचित्रमाथि हाइलाइट्सको एकाधिकार थियो । तर, अहिले हाइलाइट्स चलचित्र खरीदबाट पर हटिसकेको छ । यसको कारण यो बजारबाट घाटा हुनु हो ।
अहिले नेपालमा ओएसआर डिटिजल र बुढासुब्बा मुभिज नै चलचित्र खरीदमा अग्रपंक्तिमा छन् । यसले, निर्मातालाई केही हदसम्म राहत दिए पनि पूर्ण रूपमा डिजिटल मार्केटमै आश्रति हुने अवस्था छैन ।
डिजिटल मार्केटबाट कति कमाउँछन् निर्माता ?
बुढासुब्बा डिजिटलले चलचित्र ‘ए मेरो हजुर’का चारै वटा सिरिज खरीद गरेको छ । यो चलचित्रको हरेक सिरिजलाई ३० देखि ४० लाखको हाराहारीमा बुढासुब्बाले पैसा लगानी गरेको छ । यसमध्ये केहीबाट लगानी उठे पनि अधिकांशबाट डिजिटल संचालकहरू पनि नाफामा छैनन् ।
बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरी चलचित्रको कथा, ब्यानर, निर्देशक, कलाकार हेरेर रकम फाइनल गर्ने बताउँछन् । उनी भन्छन्- ‘सुरुआतमा त हामीले पनि ३०-४० हजारमै चलचित्रको डिजिटल राइट्स किनेका थियौं । तर, बजारको अवस्था र समय अनुसार चल्नुपर्छ । अहिले चलचित्र खरीद गर्दा हामीले ४-५ लाखदेखि ४०-५० लाखसम्म तिरेका छौं ।’
बुढासुब्बा डिजिटलले करीब २०० वटा चलचित्र खरीद गरिसकेको छ । यस्तै, पाँच वर्ष अगाडि स्थापना भएको ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल चलचित्रको ब्रान्डदेखि निर्माताको अवस्थासम्म हेरेर चलचित्र खरीद गर्ने बताउँछन् ।
उनले भने- ‘धेरै चलचित्र त हामी निर्माताको पीडा हेरेर नै किन्छौं । चलचित्र डुबिसकेपछि निर्माता हामीसम्म आइपुग्नुहुन्छ । हामीले पनि च्यानलमा एउटा नयाँ चलचित्र थपिन्छ भनेर खरीद गरेका छौं । धेरै चलचित्र त कहीं पनि नबिकेपछि हामीले खरीद गरेका छौं ।’
ओएसआरले मह संचारले निर्माण गरेको चलचित्र ‘शत्रु गते’ को युट्युब राइट्सका लागि ३० लाख रुपैयाँ खर्च गरेको थियो । राम्रो ब्यानर, कलाकार, निर्माता, निर्देशक र कथा भएका चलचित्रलाई ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको ओम बताउँछन् ।
ओएसआरले ‘कबड्डी, जात्रै जात्रा, शत्रु गते, प्रेमगीत-३’ लगायतका चलचित्रको डिजिटल राइट्सका लागि महँगो रकम खर्च गरेको छ । ओमले भने-‘नेपालमा एक वर्षमा बन्ने सय चलचित्रमध्ये कति वटा चलचित्रले नाफा कमाउँछन् र कतिवटा राम्रो हुन्छन् भनेर त हामीले भन्नै पर्दैन । ती चलचित्र बाहेक अधिकांशको अवस्था कमजोर छ । हामीले, निर्माताको दुःख हेर्न नसकेर धेरै चलचित्रको अधिकार किनेका छौं ।’
निर्माताको दुःखले हैरान
चलचित्र बनाउने निर्मातालाई केही हदसम्म सुरक्षित बनाएको डिजिटल बजार अहिले फेरि अन्योलग्रस्त अवस्थामा पुगेको छ । हल नखुलेसम्म डिजिटल बजार अगाडि बढ्न मुश्किल छ । किनकि, हलमा चलचित्र नचलाई निर्माताले युट्युबमा चलचित्र रिलिज नगर्ने भएकाले पनि लामो समयसम्म डिजिटल संचालकहरूले प्रतीक्षा गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बैंकबाट लिएको ऋणको ब्याज आफैंले तिर्नुपर्ने, करोडौं रुपैयाँ फ्रिज हुने अवस्था आएको छ ।
ओएसआरका संचालक ओम अग्रवाल भन्छन्- ‘चलचित्र हलमा रिलिज भएपछि पनि निर्माताले मास्टर कपी ढिलो उपलब्ध गराइदिंदा हामीले चलचित्र युट्युबमा ढिलो मात्र रिलिज गर्नुपर्ने अवस्था छ । यसले, हामीले गरेको लगानी पनि फिर्ता आउने अवस्था छैन । अर्कोतिर, हलमा चलचित्र रिलिज भएपछि दर्शकको कमजोर प्रतिक्रिया पाउँदा युट्युब भ्यूजमा पनि धक्का लाग्छ । कहिलेकाहीं महँगो रकम खर्च गरेका चलचित्रले युट्युबबाट ४-५ लाख पनि फिर्ता गर्दैनन् । औंलामा गन्न नसकिने थोरै चलचित्रले नाफा दिए पनि अधिकांशबाट घाटा नै भएको छ ।’
बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले निर्माताले दुःख दिंदा निकै समस्या भएको गुनासो गरे । नेपालमा डिजिटल बजार विस्तार हुनुको साटो झनै कमजोर बन्दै गएको र निर्माताले यसलाई बुझ्न नसकेको उनको भनाइ छ । गिरी भन्छन्- ‘चलचित्र बनाउँछौं भनेर एड्भान्समा पैसा लगेर धेरै निर्माताले चलचित्र नै बनाएनन् । यसले, हाम्रो करोडौं रुपैयाँ फसेको छ । कतिपयले चलचित्र नै बनाउन शुरू गरेका छैनन् भने, कतिपयले एउटा कलाकार राखेर चलचित्र बनाउँछु भन्दै एडभान्स लगेर अर्कै कलाकार राखेर चलचित्र बनाएका छन् ।’
गिरीले नामै तोकेर भने- ‘निर्माता माधव वाग्लेले पारस बनाउने भन्दै १० लाख एड्भान्स लानुभयो । पछि, यसको अधिकार भुवन केसीलाई बेचेर हिमानी बनाउनतर्फ लाग्नुभएको छ । न त मेरो फोन उठाउनुहुन्छ न त पैसा नै फिर्ता गर्नुहुन्छ । यसले त हाम्रो कम्पनीमाथि धोका भयो नि !’
गिरीले चलचित्र ‘के घर के डेरा’को घोषणा गरेर निर्माता सिंगे लामाले १० लाख एड्भान्स लगेर चलचित्र नै शुरू नगरेको बताए । भने- ‘अब, चलचित्र बनाउने कुनै सुरसार नै छैन । न त निर्माता नै सम्पर्कमा आउनुभएको छ । एकातिर हामीले बैंकमा सावाँको ब्याज तिर्नुपरेको छ । अर्कोतिर, निर्माताले धोका दिएका छन् । काम कसरी गर्न सकिन्छ ?’
निर्माता भुवन केसीले पनि ‘एन्टी हिरो’ बनाउने भन्दै १० लाख एड्भान्स लगेका थिए । तर, अब यो चलचित्र बन्ने संभावना छैन । गिरीका अनुसार, यो रकम ‘पारस’मा मिलाउने गरी भुवनसँग सहमति भएको छ ।
‘बाबरी क्याफे, ए मेरो हजुर-४, म यस्तो गीत गाउँछु-२’ लगायतका चलचित्र पनि रिलिजको अन्योलमा रहँदा आफूले दिएको एड्भान्स रकम नै पि|mज भएको उनको भनाइ छ । गिरी गुनासो गर्दै भन्छन्- ‘निर्माताले बोलेको कुरा पूरा गर्दैनन् । लगेको पैसा न त फिर्ता गर्छन् न त चलचित्र नै बनाउँछन् । अब, म कानूनी उपचारमा जाने तयारीमा छु । मसँग अरू विकल्प नै भएन ।’
फिल्म बाहिर ध्यान मोड्दै डिजिटल संचालक
कुनै समय नेपाली चलचित्रमा एकछत्र राज गरेको हाइलाइट्स नेपाल अहिले यो क्षेत्रबाट विस्तारै टाढा भइसकेको छ । यो क्षेत्रबाट करोडौं रकम घाटा लागेपछि हाइलाइट्सका संचालक ओम गुरुङले बाटो मोडिसकेका छन् । हाइलाइट्सले थुप्रै चलचित्रमा सह-निर्माता भएर समेत लगानी गरेको थियो । तर, चलचित्र युट्युबमा राखेर फाइदा नभएपछि ओम गुरुङले बाटो मोडेका हुन् । यस्तै, सोचमा बुढासुब्बा र ओएसआरका संचालक समेत पुगेका छन् । ओएसआरले अहिले चलचित्र भन्दा कमेडी शो, कमेडी सिरियलमा बढी लगानी गरेको छ । ‘कमेडी च्याम्पियन, सक्किगो’नि’ लगायतका रियालिटी शो र हास्य शृङ्खलामा लगानी गर्नुको कारणबारे ओएसआरका मालिक ओम अग्रवाल भन्छन्- ‘यी शोहरू केही हप्ता बन्द भए पनि फेरि छायांकन गरेर प्रसारण भैहाल्छन् । टीभीसँगै हामीले युट्युबमा पनि अपलोड गर्न सक्छौं । चलचित्रको जस्तो लगानी गरेर लामो समय पर्खनै पर्दैन ।’
बुढासुब्बा डिजिटलले भने अब आफैं लगानी गर्दै चलचित्र बनाउन थालेको छ । संचालक गिरी भन्छन्- ‘अब हामीले पहिलेको जस्तो चलचित्र किन्दैनौं । चलचित्र किने पनि चलचित्र तयार भैसकेपछि हेरेर मात्र निर्णय गछौर्ं । अब, कलाकार वा स्त्रिmप्ट हेरेको भरमै लगानी नगर्ने हाम्रो निर्णय छ ।’
बुढासुब्बाले आफैं चलचित्र निर्माणको थालनी समेत गरिसकेको छ ।
केही समय अगाडि फस्टाएको नेपाली चलचित्रको बजार कोरोना महामारीपछि सुस्ताउने देखिएको छ । केही निर्माताले आफैं युट्युब च्यानल खोलेर चलचित्र सार्वजनिक गर्न थालिसकेका छन् । निर्माता रोहित अधिकारीले दीपकराज गिरी र उनको टिमलाई लिएर बनाएको ‘छ माया छपक्कै’ चलचित्रको सम्पूर्ण डिजिटल राइट्स दीपकराज गिरी र उनको टिमलाई नै दिए । यो टिमले आमा अग्निकुमारी मिडिया मार्फत चलचित्र रिलिज गर्यो ।
यस्तै, मह संचार र किरण केसीले मिलेर बनाएको चलचित्र ‘दाल भात तरकारी’को डिजिटल राइट्स पनि मह संचारले नै लिएको थियो । यो चलचित्र मह संचारको युट्युब च्यानलबाट रिलिज भयो ।
नेपाली चलचित्रको डिजिटल बजार बढ्दो क्रममा रहे पनि अब पहिलेको जस्तो विभिन्न कम्पनीले चलचित्रमाथि लाखौं लगानी गर्ने अवस्था कोरोनापछिको कालखण्डमा नहुने पक्का छ । यस्तो अवस्थामा निर्माताले फेरि नयाँ बजार खोज्न आवश्यक छ । डिजिटल बजारले निर्मातालाई केही राहत दिएको थियो । अब यो बजारबाट केही लगानी पाउनका लागि निर्मातालाई पहिलेको जस्तो सहज नहुने देखिन्छ । अनलाइन खबरबाट