बिर्तामोडमा टीटीएन सप्तक साङ्गीतिक साँझ आयोजना हुँदै
बिर्तामोड । झापाको बिर्तामोडमा टीटीएन सप्तक साङ्गीतिक साँझ आयोजना हुने भएको छ। ट्रष्ट टिम नेपाल र सप्तक संगीत विद्यालयले संयुक्त रुपमा साङ्गीतिक साँझ आयोजना गर्ने भएका हुन् ।
ट्रष्ट टिम नेपालको बिहीबार बसेको तेस्रो पूर्ण बैठकले साङ्गीतिक साँझ आयोजना गर्ने निर्णय गरेको महासचिव सागर रिजालले जानकारी दिए ।
ट्रष्ट टिमले नियमित गर्दै आएको सामाजिक कार्य अन्तर्गत यो पटक पृथक कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष खिवराज दाहालले बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुलाई निमन्त्रणा गरिने उपाध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् । निमन्त्रणा गरिएका व्यक्तीहरुलाई मात्र सहभागी गराइने उनले बताइन् । बैठकले कार्यक्रम व्यवस्थित गर्नका लागि उपाध्यक्ष यसाेदा उप्रेतीको संयाेजकत्वमा सागर रिजाल, संजिव पाण्डे र शिला भट्टराई सदस्य रहने गरि एक कार्यदलसमेत गठन गरेको छ ।
कार्यक्रम बिर्तामोडको मोक्ष रेस्टुरेन्टको सभाहलमा आयोजना गरिने महासचिव रिजालले बताए । कार्यक्रम भाद्र २६ गते बेलुका ४ देखि ८ बजेसम्म हुनेछ । सहभागीहरुलाई साँझको खानासमेत उपलब्ध गराइने छ ।
कार्यक्रममा सारेगम, मेरो भ्वाईस युनिभर्स जस्ता चर्चित गायन रियालिटी शो विजेताहरुको सहभागिता रहने सप्तक संगीत विद्यालयका सञ्चालक सरोज वत्सले जानकारी दिए । कार्यक्रमको मिडिया पार्टनर परिवेश मिडिया रहेको छ ।