२०८३ असार १६ गते , मंगलबार

वडा सचिव नभएको भन्दै अर्जुनधारा १ को सेवा प्रवाह बन्द

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २७ गते , विहीबार
वडा सचिव नभएको भन्दै अर्जुनधारा १ को सेवा प्रवाह बन्द

बिर्तामोड । वडा सचिव नभएको भन्दै अर्जुनधारा नगरपालिका वडा नम्बर १ ले सेवा प्रवाह बन्द गरेको छ । वडा अध्यक्ष उपेन्द्र बस्नेतले आज एक सूचना जारी गर्दै नियमित बस्ने वडा सचिव नभएको भन्दै सेवा प्रवाह बन्द भएको जानकारी गराएका हुन् ।
वडा सचिव मञ्जु भट्टराई सुत्केरी विदामा रहनुभएको र नगरपालिकाले अर्को वडा सचिव व्यवस्था गर्न नसकेका कारण वडाको काम कारबाही प्रभावित भएको कार्यालयले जनाएको छ । 
'प्रस्तुत विषयमा यस वडा कार्यालयको वडा सचिव श्री मञ्जु भट्टराई सुत्केरी विदामा बस्नु पुर्वदेखि नै नयाँ वडा सचिव व्यवस्थापनका लागि पटक पटक अर्जुनधारा नगरपालिकामा मौखिक र पत्रद्वारा अनुरोध गरिएको तर नगरपालिकाले तहाँ कार्यालयमा रहेका अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारीमा पठाउनुको सट्टामा अर्जुनधारा वडा नं. २ का वडा सचिव श्री हरिप्रसाद रिजाललाई २ वटै वडा हर्ने गरी दोहोरो जिम्मेवारी सहित मञ्जु मेडम नफर्किन्जेल वा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी तोकिएको र निज हरिप्रसाद रिजालले दुवै वडामा भ्याएसम्म समय मिलाएर कामकाज गरिरहेको तर यस वडामा सेवाग्राहीहरुको अत्याधिक चाप हुने गरेकोले वडा सचिव जस्तो दैनिक प्रशासनिक र सेवा प्रवाहमा जिम्मेवार व्यक्ति नियमित नहुँदा सेवाग्राहीहरुले सही समयमा सेवा प्राप्त गर्न बन्चित हुने र अनावश्यक झन्झट एवम् कष्ट भोग्नु परेको साथै वडा जनप्रतिनिधिहरुले विनासित्तिमा गाली खानुपर्ने अवस्था भएकोले नगरपालिकाले हाम्रो वारम्वारको अनुरोध र परिपत्रलाई वेवास्ता गरी वडा सचिब व्यवस्थापन गर्न नखोजेको हुनाले यस वडामा नियमित बस्ने गरी वडा सचिबको व्यवस्थापन नगरुन्जेलसम्मलाई वडाबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरिएको व्यहोरा सम्पुर्ण वडाबासीहरुलाई जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको छ ।
वडाध्यक्ष बस्नेतले अत्यावश्यक काम गर्नु पर्ने भए शनिश्चरेस्थित अर्जुनधारा नगरकार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । वडाबाट प्रदान गरिने सेवा बन्द गरिँदा सेवाग्राही भने मारमा परेका छन्। 

सम्बन्धित समाचार