अनुदानको मल नियमविपरित विक्री गर्ने सञ्जिवनी कृषि भण्डारलाई दुई लाख जरिवाना
बिर्तामोड । अनुदानमा लिएको मल नियम विपरित विक्री गर्ने संजिवनी कृषि भण्डारलाई दुई लाख रुपैया जरिवाना गरिएको छ । अनुदानको मल बिक्री वितरणमा अनियमितता गर्ने बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापाबाट गरिएको बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा संजिवनी कृषि भण्डारमा अनुदानमा प्राप्त मल बिक्री वितरणमा अनियमितता भेटिएको हो । अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अनुगमन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार कृषि भण्डारका सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको कुल ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो ।
सञ्चालक भट्टराईले बाँकी १५९ बोरा मल पसलेलाई बिक्री गरेको बताइएको छ । बाँकी मलकोे बिक्री तथा मौज्दात विवरण पेस गर्न नसकेपछि भट्टराईलाई जरिवाना गरिएको हो ।
भण्डारले मंसिर ८ गते साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, बिर्तामोडबाट युरिया १७० बोरा र डिएपी ६० बोरा साथै मंसिर ९ गते कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट डिएपी १७० बोरा लगेको थियो ।
४०० बोरा मलमध्ये ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐन बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
यसैगरी, बुद्धशान्ति–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थामा पनि अनुगमन गरिएको तर उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको प्रशासन कार्यालयले जनाएको छ ।