२०८३ कार्तिक २५ गते , बुधबार

मौसममा सुधार आएसँगै पाथीभरामा दर्शनार्थीको घुइँचो

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक १८ गते , बुधबार
मौसममा सुधार आएसँगै पाथीभरामा दर्शनार्थीको घुइँचो

झापा । मौसममा सुधार आएसँगै ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दर्शनार्थीको भीड बढेको छ । यो हप्ता दर्शनार्थीको भीड बढेको हो । 
नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् । यस वर्ष भने कात्तिक तेस्रो सातामा दर्शनार्थीको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्राजिन हाङबाङका अनुसार मंगलबार एकैदिन १० हजार ६ सय १६ जनाले मन्दिरमा दर्शन गरेका छन् । यस वर्ष एकैदिन दर्शन गर्ने भक्तजनको यो सबैभन्दा ठूलो संख्या हो ।
मौसममा सुधार आएसँगै दर्शनार्थीको भीड लागेको हो । हाङबाङका अनुसार आइतबार ६ सय ४० र सोमबार ३ हजार ५ सय ९० जना भक्तजनले दर्शन गरेका थिए । नवरात्र सुरु हुँदा अस्त शुक्रलगायत ज्योतिषीय कारण र वर्षाको सम्भावनाका कारण दर्शनार्थीको आवागमन अपेक्षाकृत कम रहेको थियो । मौसम अनुकूल बनेपछि भने एकाएक भक्तजनको चाप बढेको हो ।
पाथीभरा दर्शनका लागि आउने अधिकांश भक्तजनले रातिको समयलाई यात्राका लागि रोज्ने गरेका छन् । लामो दूरीबाट आउने दर्शनार्थीहरू पहिलो दिन काफ्लेपाटी र ठूलोफेदीमा बास बसेर भोलिपल्ट बिहानै मन्दिरतर्फ लाग्छन् । धेरैजसो राति १ देखि २ बजेदेखि नै यात्रा सुरु गर्छन् भने कतिपय रातभर हिँडेर बिहानै मन्दिर पुग्ने गरेका छन् ।
तल्लोफेदीसम्म सवारीसाधनमा पुगेपछि सुरु हुने पैदल यात्रामा उकालो बाटो पार गर्दै ठूलोफेदी पुग्न करिब एक घण्टा लाग्छ । त्यहाँबाट कान्छीथान हुँदै मन्दिर पुग्न थप दुईदेखि तीन घण्टा पैदल हिँड्नुपर्छ । समुद्री सतहबाट करिब ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्ने बाटो सहज छैन । चिसो मौसम, उचाइ र कठिन भूगोलका बीच पनि देवीप्रतिको आस्था र मनोकामना पूरा हुने विश्वासले भक्तजनलाई यात्रामा अघि बढाइरहेको हुन्छ ।

सम्बन्धित समाचार