मिलनसारको मुनाफा ४७ लाख, ११ प्रतिशत लाभांश दिने
बिर्तामोड । झापाको बिर्तामोडस्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा ४६ लाख ८५ हजार ९६१ रुपैयाँ ९० पैसा मुनाफा आर्जन गरेको छ । संस्थाको आइतबार सम्पन्न १७औं बार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।
मिलनसार आव ०८१/८२ भन्दा ०८२/८३ मा १४ लाख बढी मुनाफा आर्जन गरेको हो ।
गत आवमा संस्थाको ११ करोड एक लाख १६ हजार ४८२ रुपैयाँको वासलात रहेको संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
संस्थाले शेयर सदस्यहरुलाई कारोबारको आधारमा ११ प्रतिशसम्म लाभांश वितरण गर्ने अध्यक्ष बास्कोटाले बताए ।
संस्थामा २८१७ जना शेयर सदस्य, २ करोड ३९ लाख ४७ हजार शेयर पूँजी रहेको छ भने जगेडा कोषमा ७१ लाख ९४ हजार तीन सय २८ रुपैयाँ ९७ पैसा रहेको छ ।
वार्षिकोत्सवको अवसरमा ११ जनालाई सम्मान गरिएको थियो । असल बचतकर्तातर्फ अशोक रजक, डम्बरलाल राजवंशी र श्याम बहादुर कोइराला असल ऋण कारोबारीतर्फ मोहम्मद आलम मिया, श्रीलाल राजवंशी र कुमारी तामाङलाई सम्मान गरिएको छ। बाल बचतकर्तातर्फ इभा खनाल, एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रा प्रतीक्षा थापा र छात्र शाश्वत बस्नेत, उत्कृष्ट कर्मचारी नम्रता कटुवाल र जेष्ठ सदस्यको रुपमा वीर बहादुर केसीलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद बास्कोटा सहित अतिथिहरुले जनही नगद एक हजार ५०० र सम्मान पत्रले सम्मान गरेका थिए ।
संस्थाले शेयर सदस्यको मृत्यु हुँदा सराय बापत १० देखि ५० हजार रुपैयाँसम्म र एकाघरका सदस्यको मृत्यु हुँदा ७ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ भने सदस्य बिरामी हुँदा उपचार खर्चबापत १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बुद्धनगर साकोसका सचिव देविभक्त आचार्य, मिलनसार साकोसका पूर्व अध्यक्ष बसन्तप्रेमी राजभण्डारी र राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख नरेश कामतीले शुभकामना मन्तव्य राखेका थिए।
उपाध्यक्ष अजय देवले स्वागत गरेको कार्यक्रमको सचिव कैलाश पोखरेलले सञ्चालन गरेका थिए । ज्येष्ठ सदस्य देबिभक्त आचार्य प्रमुख अतिथि रहेका थिए ।