२०८३ आश्विन ९ गते , शुक्रबार

मेचीनगरमा मानव कंकाल फेला परेको घटनामा दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन ८ गते , विहीबार
मेचीनगरमा मानव कंकाल फेला परेको घटनामा दुई जना पक्राउ

बिर्तामोड । झापाको मेचीनगर–७ गैरीगाउँस्थित एक बंगुर फार्म भित्र गाडिएको अवस्थामा एक व्यक्तिको कंकाल फेला परेपछि प्रहरीले घटनामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा म्याग्दी घर भई हाल मेचीनगर नगरपालिका वडा नं. १० बस्ने वर्ष ४५ का राम भन्ने गुप्तबहादुर सिंह र भारत जिल्ला आलेपुर विरपारा घर भई हाल मेचीनगर नगरपालिका वडा नं.८ बस्ने वर्ष ४९ का संजय लामा रहेका छन् ।
उक्त कंकाल करिब दुई वर्षदेखि बेपत्ता दिलनाथ बजगाईँको हुन सक्ने आशंका गरिएको छ । ललितपुर जिल्ला साविक मनिखेल हाल महाङकाल गाउँपालिका वडा नं.१ स्थायी वतन भएका दिलनाथ बजगाई २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर नगरपालिका वडा नं.६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए ।
आफ्नो श्रीमान हराएको भन्दै उनकी श्रीमती तुलसा बुढा बजागाईले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । त्यस सम्बन्धमा अनुसन्धान गर्ने क्रममा हराइरहेका बजगाई सँगसँगै हिड्ने उनकै साथी राम भनिने गुप्तबहादुर सिंह समेतलाई सोधपुछ गर्दा उनले घटनाबारे जानकारी गराएका थिए ।
प्रतिवादी सिंह स्वयमले मेचीनगर नगरपालिका वडा नं. ७ भान्सा खोला (गैरीगाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा संचालन गरेको बंगुर फर्मभित्र बुधबार प्रहरीले उत्खनन् गरेको थियो । स्थानीय मानिस र जनप्रतिनिधिहरु समेतको रोहबरमा जेसीबी लगाई उत्खनन् गर्दा मानव आकृति देखिने कङ्काल फेला परेको छ । त्यसलाई परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
उक्त कंकाल दिलनाथ बजगाईको हो वा होइन एकिन गर्नको लागि बरामदित कंकालको प्रादेशिक अस्पताल भद्रपुरमा शव परीक्षणपश्चात् नमूना परीक्षणको लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रकिया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार