बिर्तामोडमा गणित सिकाइ सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोडमा ‘गणित सिकाइमा ठोस सामग्रीहरूको प्रयोग र व्यवहारिक उपयोगिता’ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आइतबार बिर्तामोडस्थित देवि माविमा एक दिवसीय गोष्ठी सम्पन्न भएको हो ।
गणित शिक्षा सञ्जाल कार्यसमिति बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । ठोस सामग्रीको प्रयोग, पेपर फोल्ड, पेपर कट र आईसीटी सम्बन्धी गणितीय धारणा निर्माण गरी गणितलाई व्यवहारमा जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले गणितलाई हाउगुजी नबनाई जुनसुकै अवस्थामा पनि जीवनसँग जोडिएको हुनाले यसलाई सहज बनाउनुपर्ने धारणा राखे । नगरपालिकाले मुख्य ५ विषयहरू (गणित, नेपाली, सामाजिक, अंग्रेजी र विज्ञान)का विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भण्डारीले जानकारी दिए ।
एआइएम म्याथ झापाका प्रशिक्षक तथा धुलाबारी माविका शिक्षक टेकनाथ गौतमले कार्यक्रमको सहजीकरण गरेका थिए ।
गणित विषय कार्यसमिति सञ्जालका संयोजक तथा देवी मावि बिर्तामोडका गणित शिक्षक कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथीका रुपमा देवी माविकी प्रअ अम्बिका श्रेष्ठ, नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, अङ्ग्रेजी बिषय संयोजक केशव उप्रेती, नेपाली विषय संयोजक कुलदीप घिमिरेलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थी प्रगति खड्काले आईसीटी र ठोस वस्तुको माध्यमबाट गणित सिकाइ सहज भएको र उक्त सिकाइ अनुभव विद्यालयमा गणित ल्याब स्थापना गरी सबै समक्ष पुर्याउनु पर्ने धारणा राखिन् । गोष्ठीमा विर्तामोड नगरपालिकाका सामुदायिक र संस्थागत गरी ३२ विद्यालयका एकसय बढी शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।
गणित विषय कार्यसमिति सदस्य एवं गोमेन्द्र बिर्ता मोडल बिर्तामोडका गणित शिक्षक केशवमणी ढकालले स्वागत गरेको कार्यक्रम कार्यसमिति सदस्य साथै एभरेष्ट स्मार्ट एजुकेसनकी शिक्षिका सावित्रा भट्टराईको सञ्चालन गरेकी थिइन् ।