नयाँ राजनीतिक अभ्यासको परीक्षण : परिणाम हेरेर मूल्यांकन गरौँ
नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा एउटा नयाँ बहस सुरु भएको छ । अब देश पुरानै शैलीमा चल्ने कि नयाँ सोच, नयाँ कार्यशैली र परिणाममुखी अभ्यासबाट अघि बढ्ने ? यही बहसको केन्द्रमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेतृत्वहरू देखिएका छन् ।
नयाँ राजनीतिक शक्तिहरू उदाउँदा स्वभाविक रूपमा आशा, उत्साह, आलोचना र आशंका सबै सँगै आउँछन् । कसैले परिवर्तनको सम्भावना देख्छन्, कसैले जोखिम । तर लोकतन्त्रको वास्तविक सौन्दर्य नै यही हो अन्तिम मूल्यांकन भावना होइन, परिणामबाट गरिनुपर्छ ।
पछिल्लो समय सरकार र नेतृत्वबाट मितव्ययिता, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रभावकारी बनाउने प्रयास, शहर व्यवस्थापन, सहकारी पीडितको आवाज उठाउने जस्ता कामहरू अघि बढिरहेका छन् । यी प्रयास पूर्ण छन् भन्ने होइन, तर कम्तीमा “काम गर्न खोजिएको” संकेत भने स्पष्ट देखिएको छ ।
विगतमा राज्यका धेरै संरचना राजनीतिक भागबण्डा, पहुँच र स्वार्थ समूहको प्रभावमा कमजोर बनेका थिए । त्यस्ता प्रवृत्तिमा हस्तक्षेप हुँदा विरोध हुनु स्वाभाविक हो । तर परिवर्तनको कुनै पनि प्रयास सुरु हुँदा त्यसले पुराना संरचनालाई असहज बनाउने नै गर्छ। त्यसैले आलोचना मात्रै होइन, कामको प्रभाव र परिणामलाई पनि शान्त ढंगले हेर्न आवश्यक छ ।
प्रधानमन्त्री तथा नेतृत्वको कार्यशैलीलाई लिएर पनि बहस भइरहेको छ । कोही धेरै बोल्ने शैली मन पराउँछन्, कोही कम बोलेर काम गर्ने शैली । तर अन्ततः जनताले खोजेको कुरा भाषणभन्दा बढी परिणाम हो सेवा, सुशासन र विश्वास । त्यसैले अब राजनीतिक मूल्यांकन नाराभन्दा कामको आधारमा हुनुपर्छ ।
यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को जेठ १८ गतेदेखिकाे भारत भ्रमणलाई पनि धेरैले चासोका साथ हेरेका छन् । दक्षिण छिमेकीसँग सम्बन्ध नेपालको भू-राजनीतिक यथार्थसँग जोडिएको विषय हो । त्यसैले संवाद, कूटनीतिक सन्तुलन र आपसी सहकार्यलाई कमजोरी होइन, परिपक्व राजनीतिक अभ्यासका रूपमा बुझिनुपर्छ ।
नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान कायम राख्दै छिमेकीसँग सम्मानपूर्ण सम्बन्ध बनाउनु आवश्यक छ । न त अनावश्यक झुकाव उचित हुन्छ, न त अनावश्यक टकराव ।
आजको विश्वमा परिपक्व नेतृत्व भनेको संवाद गर्न सक्ने, राष्ट्रिय हित स्पष्ट रूपमा राख्न सक्ने र सम्बन्धलाई व्यवहारिक ढंगले अघि बढाउन सक्ने नेतृत्व हो । यही दृष्टिकोणबाट हेर्दा उक्त भ्रमणलाई सकारात्मक कूटनीतिक पहलका रूपमा लिन सकिन्छ ।
राजनीतिमा अफवाह, आरोप र भ्रम फैलाउने संस्कार पुरानै हो । तर अब समाजले भावनात्मक उत्तेजनाभन्दा तथ्य, परिणाम र व्यवहारिक परिवर्तनलाई प्राथमिकता दिनुपर्छ । कुनै पनि नेतृत्वलाई अन्ध समर्थन गर्नु गलत हो भने, राम्रो कामलाई स्वीकार नगर्नु पनि त्यत्तिकै अन्याय हो ।
आज आवश्यक कुरा एउटै हो ।
देशलाई निरन्तर निराशा र घृणाको राजनीतिबाट निकालेर उत्तरदायित्व, सुशासन र सहकार्यको दिशामा लैजानु । आलोचना गरौँ, तर तथ्यका आधारमा । समर्थन गरौँ, तर विवेकका साथ ।
नेपाल बनाउने जिम्मेवारी कुनै एक नेता, एक पार्टी वा एक समूहको मात्र होइन — सम्पूर्ण नागरिकको साझा दायित्व हो । त्यसैले अब आरोपभन्दा समाधान, विभाजनभन्दा सहकार्य र निराशाभन्दा सकारात्मक परिवर्तनको यात्रालाई बलियो बनाउने समय आएको छ ।