२०८३ जेष्ठ १६ गते , शनिबार
दमकमा हत्या गरेर फ्यालिएको शवको खुलेन पहिचान
बिर्तामोड । झापाको दमकमा हत्या गरेर बोरामा बाँधेर खोलामा फ्यालिएको महिलाको पहिचान खुल्न सकेको छैन । शव आज बिहान अन्दाजी १०:३० बजे फेला परेको थियो ।
दमक–१० स्थित सेतुमारी पुलमुनि बोरामा बाँधेर रतुवा खोलाको पानीमा फालेको अबस्थामा शव फेला परेको थियो । महिलाको कपाल र हात बाहिर निस्किएको र शरीर बोराभित्र रहेको अबस्थामा शव भेटिएको थियो ।
शवको घाँटीमा डोरीले बाँधेर हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ।
अन्दाजी २०–२२ वर्षकी जस्तो देखिने महिलाको पहिचान खुलिसकेको छैन । महिलाको हातमा ट्याटु रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।