वायु प्रदूषणका कारण बार्षिक २६ हजार नेपालीको मृत्यु
झापा । वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजार जनाको अकालमा मृत्यु भइरहेको र नेपालीको आयु सरदर ३ वर्ष ४ महिनाले घटाइरहेको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व बैंकको ताजा रिपोर्ट अनुसार नेपालीको मृत्यु र अपांगताको पहिलो कारण नै वायु प्रदूषण हो ।
मंगलबार काठमाडौंमा सार्वजनिक रिपोर्टमा लेखिएको छ, ‘नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको पहिलो प्रमुख कारक हो । यो कारणले वार्षिक करिब २६ हजार नेपालीको अकालमा मृत्यु हुन्छ र आयु औसत ३.४ वर्षले घटाउँछ । वायु प्रदूषण श्वासप्रश्वास, मुटु, फोक्सो, जन्मजात समस्या, मधुमेह आदि रोगको प्रमुख कारण बनेको छ ।’
वायु प्रदूषण नियन्त्रणका लागि सीमापार समन्वय, नवीकरणीय ऊर्जाको प्रयोग, डढेलो नियन्त्रण, कडा नियम कार्यान्वयन र वैकल्पिक ऊर्जामा अनुदान लगायतका कदम चाल्नुपर्नेमा विश्व बैंकले सुझाव दिएको छ ।
काठमाडौं र तराई हटस्पट
राजधानी काठमाडौं उपत्यका र तराई मधेशका जिल्ला वायु प्रदूषणका हिसाबले हटस्पट हुन् । यी क्षेत्रमा पछिल्लो दशकमा खास सुधार देखिएको छैन ।
काठमाडौं र तराईमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) ले तोकेको सुरक्षात्मक सीमा (हावामा प्रति घनमिटर ५ माइक्रोग्राम) भन्दा कयौं गुणा उच्च छ ।
नेपालमा हिउँदयाम र गर्मीयामको सुरुवातमा वायु प्रदूषणको स्तर २०० भन्दा बढी पुग्ने गरेको छ । २०७७ सालको चैतमा वायुप्रदूषण बढ्दा चार दिनसम्म विद्यालय बन्द गर्नुपरेको थियो । कम भिजिबिलिटीका कारण हेलिकप्टर उडान समेत बन्द भएको थियो ।
गर्मी र प्रदूषित हावाका संयोजनले नेपालजस्ता कम विकसित मुलुकहरु बढी प्रभावित हुने गरेका छन् । हालै प्रकाशित स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युट अफ इन्भायरोमेन्टल मेडिसिनद्वारा गरिएको अध्ययन रिपोर्टमा जलवायु परिवर्तनका कारण बढीरहेको भिषण गर्मी र वायु प्रदूषणको संयुक्त मारले मृत्युको जोखिम ६४ प्रतिशतसम्म बढेको उल्लेख छ ।
वायु प्रदूषणले जीडीपीमा ६ प्रतिशत क्षति
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ० देखि ५० एक्युआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ र २०१ देखि ३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि एक्युआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मानव स्वास्थ्यका लागि सबैभन्दा चिन्ताजनक प्रदूषक भनेको हावामा उड्ने २.५ माइक्रोनभन्दा साना कणहरू (पी.एम. २.५) हुन् ।
यी साना कणहरु श्वासप्रश्वासको माध्यमबाट फोक्सो हुँदै रगतमा र रगतसँगै अन्य संवेदनशील अंगमा पुग्छन् । त्यसले दम, हृदयाघात, मस्तिष्कघात र क्यान्सर जस्ता स्वास्थ्य समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन् ।
यस्ता समस्याले नेपालको पर्यटन, उत्पादन र हवाई उड्डयन क्षेत्रमा असर गरेको र आर्थिक रूपमा हेर्दा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ६ प्रतिशत भन्दा बढीको क्षति भएको अनुमान विश्व बैंकले समेत गरेको छ ।
प्रदूषणका मुख्य स्रोतहरू
नेपालमा वायु प्रदूषणका मुख्य स्रोतहरू उद्योग, खाना पकाउन प्रयोग हुने परम्परागत इन्धन र पेट्रोल डिजलबाट चल्ने सवारी साधन हुन् । जंगलको डढेलोले पनि प्रदूषण बढाउने गरेको छ ।
तराई मधेशमा वायु प्रदूषणको करिब दुई तिहाइ सीमा पारिबाट (भारतबाट) आउने गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
२०३५ सम्म वायु प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम नचालिएमा स्थिति अझ गम्भीर हुने चेतावनी विश्व बैंकले दिएको छ ।
सन् २०३५ को लक्ष्य ३५
काठमाडौंमा तीन प्रमुख उपायबाट वायु प्रदूषणको स्तर घटाउन सकिने सुझाव विश्व बैंकले दिएको छ ।
त्यसका लागि विद्युतीय गाडी, बायोमास जस्ता स्वच्छ इन्धन प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । खाना पकाउन इलेक्ट्रिक चुल्हो प्रयोग गर्न र सवारी साधनहरुको नियमित जाँच गर्न पनि सुझाइएको छ ।
साथै सडकमा उड्ने धुलो नियन्त्रण गर्न पनि सुझाव दिएको छ ।
तर तराईमा यी उपायहरू मात्र पर्याप्त छैनन् । त्यहाँ छिमेकी भारत लगायतका देशहरूसँग पनि समन्वय अपरिहार्य रहेको विश्व बैंकको निष्कर्ष छ ।
प्रदूषण न्यूनीकरणका लागि नेपाल सरकारलाई निम्न पाँच आधारहरूमा काम गर्न विश्व बैंकले सुझाव दिएको छ ।
वायु गुणस्तरसम्बन्धी तथ्यांकमा सुधार
कडा नियम र त्यसको कार्यान्वयन
नवीकरणीय ऊर्जामा प्रोत्साहन
उद्योगहरूलाई प्रविधिमा लगानी गर्न प्रोत्साहन
स्वच्छ प्रविधिको पूर्वाधार विकास (विद्युत आपूर्ति, चार्जिङ स्टेशन आदि)
सरकारको प्रतिबद्धता र विश्व बैंकको सहयोग
नेपाल सरकारले सन् २०३५ भित्र वायु प्रदूषणको औसत स्तर ३५ माइक्रोग्राम प्रतिघनमिटर भन्दा तल झार्ने लक्ष्य लिएको छ । यो लक्ष्य नेपाल सरकारको १६ औं राष्ट्रिय योजनामा उल्लेख छ ।
त्यसका लागि इन्डोगंगेटिक समथर क्षेत्रका देशहरूसँग मिलेर अगाडि बढ्ने बताइएको छ ।
इन्डोगंगेटिक समथर क्षेत्र भन्नाले भारतको उत्तरी भाग (उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, दिल्ली, हरियाणा), नेपालको तराई मधेश र काठमाडौं उपत्यका, बंगलादेशको केही भाग, पाकिस्तानको पूर्वी भाग (लाहोर र पन्जाब) र भुटान सहितको क्षेत्रलाई बुझिन्छ । यो क्षेत्रमा कृषि, उद्योग कलकारखाना र उच्च जनघनत्व भएकाले विश्वमै बढी वायु प्रदूषण हुने गर्दछ ।
यहाँ हुने प्रदूषणले सामूहिक असर पार्ने भएकाले सीमापार समन्वयमा विश्व बैंकले जोड दिएको छ ।
हरित रोजगार सिर्जनामा जोड
विश्व बैंकले चीन, मेक्सिको सिटी र उलानबटारले विगतमा प्रदूषण घटाउन गरेको सफल प्रयास नेपालका लागि प्रेरणा बन्न सक्ने जनाएको छ ।
वायु गुणस्तर सुधारसँगै ऊर्जा सुरक्षामा योगदान, लागत बचत, जीवनस्तरमा सुधारजस्ता लाभ हासिल हुनेछ ।
तर प्रदूषण नियन्त्रणले केही उद्योगमा रोजगारीमा असर पार्न सक्ने भएकाले ‘हरित रोजगार’ सिर्जना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।