पर्यटन बर्षका लागि सरकारले छलफल नगरेको काँकरभिट्टाका व्यवसायीको गुनासो
झापा । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणा गरे पनि पूर्वी नाका झापाका पर्यटन व्यवसायीहरूले आफूहरुसँग सरकारले समन्वय नगरेको बताएका छन् ।
पूर्वी नाका काँकरभिट्टाबाट भुटान र भारतबाट पर्यटक नेपाल आउने भए पनि सरकारले झापामा पर्यटन सम्बन्धी कार्यक्रम नगरेको समेत गुनासो गरेका छन् ।
ट्राभल्स एजेन्सी, होटल व्यवसायी, पर्यटन व्यवसायीहरुसँग काँकडभिट्टामा भएको छलफलमा पर्यटन क्षेत्रमा सङ्घीयता नआएको समेत बताए । उनीहरूले भने, ‘काठमाडौँमा हुने केन्द्रीयताको अभ्यास प्रदेशले पनि केही व्यवसायीलाई च्यापेर कार्यक्रम गर्ने गरिएको छ ।’
पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रूपमा घोषणा गरे पनि अहिलेसम्म यो बारेमा एक पटक पनि छलफल नभएको बताए । उनले भने, ‘सरकारले कस्ता पर्यटक भित्र्याउने ? यदि पर्यटन वर्ष मनाउने हो भनेँ बाह्य पर्यटक भित्रिने कोशी प्रदेशको एक मात्रै काँकडभिट्टा नाका हो, यहाँका हामी पर्यटन व्यवसायीलाई नै थाहा छैन ।’
विराटनगरले कार्यक्रम गर्ने, संयोजक त्यहीँका तोकिने, अनि हामीले सफल बनाइदिनु पर्ने हो भने यस्ता पर्यटन वर्ष स्वीकार गर्न नसक्ने बताए ।
पर्यटन व्यवसायी निरबहादुर कार्कीले प्रदेश सरकारले देखेको पर्यटन विकासको क्षेत्र भनेको विराटनगर, धरान, बेतना र अलिअलि कोशी टप्पुसम्मलाई मात्रै जोडिएको बताए ।
भारत, बङ्गलादेश, भुटान र म्यानमारका पर्यटकहरू नेपाल आउँदा स्थल मार्ग प्रयोग हुने भनेको काँकरभिट्टा नाका नै भएको दाबी पर्यटन व्यवसायीको छ । ‘स्थल मार्ग भएर विदेशी पर्यटक भित्रिने कोशी प्रदेशको एक मात्र नाका काँकरभिट्टा मात्रै हो, कार्कीले भने, ‘सरकारका कार्यक्रमहरू काँकरभिट्टासम्म आइपुगेको छैन, इटहरी, धरान विराटनगर सेरोफेरो नै प्रदेशको पर्यटन घुमेको छ ।’
विराटनगर, धरान, इटहरी लगायतका पर्यटन व्यवसायी टिकेटिङमा मात्रै केन्द्रित रहेको अवस्थामा काँकरभिट्टाका पर्यटन व्यवसायीहरू भने बङ्गाली, आसामी, नर्थ इस्टका पर्यटकलाई लक्षित गरेर प्याकेजिङगमा काम गरिरहेको दाबी गरेका छन् ।
‘बङ्गाली, आसामी, नर्थ इस्टका पर्यटक नेपाललाई घुम्न चाहन्छन्, भारतीय ट्राभल्स एजेन्सीहरू पनि नेपालका गन्तव्य खोजी रहेका छन्’, व्यवसायी भन्छन्, ‘नेपालले आफ्नो पर्यटनमैत्री नीति लिन सकेको छैन ।’
व्यक्तिगत लगानीमा मणिपुर र सिलोंगसम्मको मार्केटिङ गर्ने गरिएको उनीहरूको दाबी छ । पर्यटकहरूको रोजाई कोशी प्रदेशको भन्दा पनि पोखरा हुँदै मुक्तिनाथसम्म काठमाण्डौ, चितवन, लुम्बिनी प्याकेजिङ टुरमा पर्ने गरेको छ ।
अर्का व्यवसायी मोहन रिजालले सामान्य एक्स–रे मेसिन नचलाउँदा समेत पर्यटकले दुख पाउने गरेको बताए । उनले पानी ट्याङ्कीबाट नेपाल आउने पर्यटकलाई नेपाल प्रवेश गर्दासम्म नेपाली सुरक्षा निकायले मात्रै ५ ठाउँमा चेकजाँच गरेरै आतङ्कित पार्ने गरेको सुनाए ।
‘कोशीबाट पर्यटक भित्र्याउने हो भने, पर्यटन मैत्री नाकालाई बनाउन सक्नुपर्छ, उनले भने, पर्यटक धेरै नेपाल भित्र्याउनका लागि यहाँको चेकिङ, पुलमा हुने अनावश्यक भिडभाड हटाउने, पुलमा भइरहेको पार्किङ हटाउने र पानीटंकीबाट आउँदा ३ ठाउँमा गाडी फेर्नु पर्ने बाध्यता हटाउन सक्नुपर्छ ।’
पछिल्लो वर्षहरूमा यी गतिविधिले गर्दा ४० प्रतिशत मानिस पनि यहाँबाट नभित्रिएको दाबी पर्यटन व्यवसायीको छ । ‘पर्यटक नआउँदा हामी व्यवसायीलाई बढी पिर परेको छ, उनले भने, सरकारलाई चासो भएको छैन, सरकारले गर्ला नगर्ला भनेर हामी आफैँ लागेका छौँ ।’
ट्राभल व्यवसायी राजु अधिकारीले सरकारले २४ घण्टा नै पर्यटकलाई सुविधा दिन सक्नु पर्नेमा पूर्वी नाका पर्यटन मैत्री नभएको भन्ने गरेको गुनासो गरे ।