२०८३ बैशाख १९ गते , शनिबार

महिलाको मुद्दा उठान माओवादीले नै गरेको हो : हिमा चेम्जोङ

sajilo news
परिवेश मिडिया
२०८१ माघ ११ गते , शुक्रबार
महिलाको मुद्दा उठान माओवादीले नै गरेको हो : हिमा चेम्जोङ

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङले महिलाको मुद्दा नेकपा माओवादीले नै उठाएको बताएकी छन् । शुक्रबार प्रेस सेन्टर नेपालको विराटनगरमा सम्पन्न तेस्रो प्रदेश अधिवेशनलाई अतिथिको रुपमा सम्बोधन गर्दै चेम्जोङले महिला हकहितका लागि नेकपा माओवादी केन्द्रले नै सशक्त आवाज उठाएको बताएकी हुन् ।
पार्टीले महिलाहरुलाई उचित स्थान दिँदै आएको र आज सम्पन्न हुने अधिवेसनले पनि महिला पत्रकारहरुलाई उपयुक्त स्थान दिनमा विश्वस्त रहेको बताइन् । उनले सबै पत्रकार र सञ्चार गृहलाई सबल बनाउन महासंघले पहल थालिसकेको बताइन् । 
प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष गिरीले पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताए । प्रेस सेन्टर कान्छो संगठन भए पनि दर्बिलो र ओझ पूर्ण संगठन भएको उनले दाबी गरे । 
कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिए ।
प्रदेशका पूर्वमन्त्री एवम नेकपा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको संगठन भएको बताए । समाजवादी उद्देश्यलाई केन्द्रमा व्यवसायिक पत्रकारिता गर्न उनले आग्रह गरे ।
डिजिटल युगमा पत्रकारिता चुनौती थपिएको बताउँदै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इञ्चार्ज विजय साम्पाङ्गले प्रदेश अधिवेशनले त्यो चुनौती चिर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गंगा बराल, लक्ष्मण खड्का, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रदेश अध्यक्ष विनोद घिमिरेको अध्यक्षता तथा सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीको प्रमुख आतिथ्यमा प्रदेश अधिवेशन सम्पन्न भएको हो । 
कार्यक्रममा सहभागीलाई वरिष्ठ उपाध्यक्ष नवराज कट्टेलले स्वागत गरेका थिए भने सञ्चालन महासचिव सुजन तिम्सिनाले गरेका थिए ।

सम्बन्धित समाचार