बिर्तामोडमा पहिलो पटक गायत्री मन्दिरमा अनुष्ठान तथा प्राण प्रतिष्ठा हुने
बिर्तामोड । झापाको बिर्तामोडमै पहिलो पटक निर्मित गायत्री मन्दिरमा अनुष्ठान तथा प्राण प्रतिष्ठा हुने भएको छ । बिर्तामोड–५ स्थित बालाजी टोलमा निर्मित गायत्री मन्दिरमा आगामी माघ १७ गतेदेखि पाँच दिवसीय अनुष्ठान हुन लागेको हो ।
प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा १७ गते बिहान कलश एवम् निशान यात्रा गरिने कार्यक्रम तथा मन्दिर निर्माण समिति संयोजक रोनक वंशलले जानकारी दिए । आज मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २१ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा मन्दिरमा माताको प्राण प्रतिष्ठा गरिने कार्यक्रम रहेको छ ।
बिर्तामोड नगरपालिकाको १५ लाख, प्रदेश सरकारको ४० लाख र दाताहरुको सहयोगमा करिब २ करोड ५० लाख रुपैँयामा मन्दिर निर्माण गरिएको संयोजक वंशलले जानकारी दिए । ५ धुर दानबाट प्राप्त भएको र बाँकी ५ धुर खरिद गरिएको उक्त जग्गामा भव्य मन्दिर निर्माण गरिएको छ । मन्दिरमा गायत्री मन्त्रसहित विभिन्न भगवानहरुको मुर्ति कलात्मक ढंगले कुँदिएका आकर्षक ढोकाहरु प्रयोग गरिएको छ ।
निर्माण शुरु गरिएको २० महिनामा मन्दिर सञ्चालनमा आउन लागेको हो ।
अनुष्ठान कार्यक्रम अन्तर्गत माघ २० गते साँझ ६ः४५ बजेदेखि जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको विशेष प्रवचनसमेत राखिएको वंशलले जानकारी दिए । अन्य दिनहरुमा मन्दिर परिसरमा निरन्तर भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने छ । दैनिक भजन कीर्तनमा चर्चित भजन गायक तथा कलाकारहरु कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुतको प्रस्तुति रहने बताइएको छ ।