वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्ने केसी विरुद्ध म्याद थप

काठमाण्डौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालिएको छ । दोलखा घर भएका ललित कुमार केसीविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीले बताए ।
काठमाण्डौ जिल्ला अदालतले केसीमाथि अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका कार्यकर्ताले वरिष्ठ अधिवक्तामाथि आक्रमण गरेका हुन् । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका छन् । उनको जाहेरीको आधारमा ललितविरुद्ध म्याद थप भएको हो । प्रहरीले थप आक्रमणकारीहरूलाई खोजी रहेको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले मंगलबार र बुधबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बहस गरेका थिए ।