कनकाई माई मेलामा खुलेआम जुवाजन्य खेल, मुकदर्शक बन्यो प्रशासन
बिर्तामोड । मकर सक्रान्तिको अवसरमा झापाको कनकाई र शिवसताक्षीस्थित कनकाई माईको किनारामा लगाइएको मेलामा खुलेआम जुवाजन्य खेल खेलाएको पाइएको छ । प्रत्येक बर्ष झैँ यस बर्षपनि आयोजना गरिएको उक्त मेलामा खुलेआम जुवाजन्य खेल लक्की सेभेन खेलाइएको पाइएको हो ।
जुवाजन्य खेल खेलाउन नपाइने भएपनि उक्त मेलामा प्रहरी कै उपस्थितीमा खेल खेलाएको पाइएको छ । शवदाह गृहको पुर्व उत्तरपटि चारवटा स्टलमा खुलेआम लक्की सेभेन खेल खेलाइरहँदा त्यसैको छेवैमा रहेका प्रहरी भने देखेको नदेखे झैँ गरिरहेको भेटिएको छ ।
जुवाजन्य खेल खेलाइने गरेको गुनासो आएपछि स्थलगत रिपोर्टिङमा गएको मिडियाकर्मीले कनकाई माई धार्मिक मेला आयोजक समितिका सदस्य इन्द्र राईको उपस्थितीमा सो खेल खेलाइरहेको भेटेका थिए । मकर स्नान गर्न आउने धर्मावलम्बीहरुका लागि लक्षित गरेर लगाइने गरेको मेलामा प्रतिबन्धित जुवाजन्य खेल खेलाइने गरेको भएपनि प्रशासनले मौनता साँधेको पाइएको छ ।
स्थानीयको गुनासोको आधारमा सोमबार साँझ प्रहरीले छापा मारेको बताएपनि मंगलबार खुलेआम खेल खेलाइनुले प्रहरीसँगको मिलेमतोको आशंका गरिएको छ ।
गत पुष २७ गते उद्घाटन गरिएको मेला माघ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।