सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दलकै नेताको विरोध
बिर्तामोड । हिउँदे अधिवेशन बोलाउनुको सट्टा सरकाले अध्यादेश ल्याएपछि सत्तारुढ दलकै नेताले विरोध जनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनुको सट्टा एकपछि अर्को अध्यादेश ल्याएकामा सरकारको विरोध गरेका हुन् ।
हाल बेलायत भ्रमणमा रहेका कोइरालाले आइतबार नेपाली जनसम्पर्क समिति बेलायतले उनको सम्मानमा लण्डनमा गरेको एक कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन् ।
यस्ता क्रियाकलापले नेपाली कांग्रेस र एमालेको दुई तिहाई बहुमतको सरकार कतै तानाशाही त हुन लागेको होइन भन्ने चिन्ता आफूलाई लागेको उनले बताए । यो सरकारलाई असफल हुने छुट नभएको भन्दै कोइरालाले प्रजातान्त्रिक मुल्य मान्यता अनुसार आगाडि बढ्नु पर्नेमा जोड दिए ।
उनले गैरआवासीय नेपाली नागरिकहरूलाई १० वर्षको निःशुल्क भिसा दिने गरी ल्याइएको अध्यादेशप्रति असन्तुष्ट व्यक्त गर्दै भने, ‘नेपाली नागरिकता दिइसकेपछि भिसाको कुरै आउँदैन । सरकारले यो ‘ननसेन्स’ निर्णय सच्याउनुपर्छ ।’
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेता कोइरालाले हालै प्रधानमन्त्री केपी ओलीले २०८७ सालसम्म संविधान संशोधन हुन्छ भनी दिएको अभिव्यक्ति दुई पार्टीबीच भएको सहमतिविपरीत रहेको भन्दै विरोध गरे ।