सम्पादक खड्काको नेतृत्वमा प्रेस सेन्टर झापाको समिति सर्वसम्मत
बिर्तामोड । परिवेश मिडियाका सम्पादक पुष्प खड्काको नेतृत्वमा प्रेस सेन्टर नेपाल झापाको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न १०औं जिल्ला अधिवेशनले खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ । कार्य समितिको पहिलो बैठकले २ जना सदस्य मनोनयन गर्ने निर्णय भएको छ ।
अधिवेशनले प्रदेश उपाध्यक्ष डण्डिराज घिमिरे र झापा सहइञ्चार्ज झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।
कार्यक्रममा युवा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख अतिथि एबम् अतिथिहरुले खादा अबिर लगाएर स्वागत गरेका थिए । साम्पाङ विगत १४ बर्षदेखि झापाली पत्रकारिता क्षेत्रमा आबद्ध छन् भने यलम्बर टाइम्सको अनलाइन सम्पादकको रुपमा कार्यरत छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका पदाधिकारी सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरिएको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य (अग्नि) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टीका प्रदेश सदस्य भवानी दङ्गाल (भानु), प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रिय सचिव विमल लामिछाने, केन्द्रिय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्डिराज घिमिरेले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवप्रवेशी राजन साम्पाङले पहिचानको मुद्धाको पक्षमा वकालत गर्ने नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्था प्रेस सेन्टर नेपाल भएकाले आफु यसमा आबद्ध भएको भनाई राखे ।
राजु पाठकको अध्यक्षमा सम्पन्न अधिवेशनमा सचिव खड्काले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डी. कौडिन्य अक्षयकोषको अभियानलाई निष्कर्षमा पुर्याउनेसहित वार्षिक कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । केन्द्रिय सचिव तथा संगठनको झापा इञ्चार्ज विमल लामिछानेले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेका थिए ।