सर्वसाधारणलाई आतंकित पार्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा
बिर्तामोड । झापाको बिर्तामोडमा सर्वसाधारणलाई आतंकित पार्ने गरी ठूलो आवाजमा कुदाउने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । साइलेन्सर परिवर्तन गरी ठूलो आवाजमा फाइरिङ गर्दै कुदाउने ७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले साइलेन्सर परिवर्तन गरी ठूलो आवाजका साथ ध्वनि प्रदूषण गर्ने ७ वटा मोटरसाइकललाई दुई दिनमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मोटरसाइकलहरुमा बुलेट, एनएस, बेनेली, ड्युक, पल्सरलगायत रहेका छन् ।
साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने ७ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । उनले एक महिनामा त्यस किसिमका २ दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कार्वाही गरिएको बताए । लापरवाही तरिकाले ध्वनि प्रदूषण गरी चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिई कार्वाही र जरिवाना गरिएको उनले जानकारी दिए । साइलेन्सर बिगारेर चलाइएका ती मोटरसाइकलको साइलेन्सर निकालिएको छ । पहिलो पटक त्यसरी कुदाउने चालकलाई पाँच सय, पुनः दोहोर्याए थप कारबाही गरिने उनले बताए । फेरि पनि त्यसरी नै चलाए यातायात व्यवस्था कार्यालयमा कार्वाहीका लागि पठाउने पौडेलले जानकारी दिए ।
दिउँसोभन्दा रातिको समयमा बन्दुक पड्काए जस्तो ठूलो आवाजका साथ फाइरिङ गर्दै मोटरसाइकल कुदाउँदा स्थानीयबासी र यात्रु आतंकित भएका छन् । एकपछि अर्कोको सिको गर्दै युवाले त्यसरी मोटरसाइकल कुदाउने लहर चल्न थालेपछि प्रहरीले कारबाही शुरु गरेको हो ।
तीब्र गतिमा फाइरिङ गर्दै कुदाउने युवालाई नियन्त्रणमा लिन प्रहरी टोली नै परिचालन गरिएको छ । मानिसहरु राति सुत्ने बेलामा आगोको झिल्का निकालेर ठूलो आवाजका साथ फाइरिङ गर्दै मोटरसाइकल चलाउने गरेको पाइएको छ । प्रहरीले त्यस किसिमको मोटरसाइकल नियन्त्रणमा लिने अभियानलाई जारी राखेको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।