रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बित, कार्यवाहक सभापतिमा अर्याल
काठमाण्डौ । पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित भएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सासंद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेका छन् ।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्की (अपराध अनुसन्धान तथा कारबाही शाखा) ले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरी लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २)६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका गराएको संसद्का महासचिव पाण्डेयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २)६४ को दफा २७ मा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतस् निलम्बन भएको मानिनेछ,’ भन्ने व्यवस्था रहेको छ ।
यता रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । पार्टीको सचिवालय बैठक भर्चुअल बसेको हो । सचिवालय बैठकमा केन्द्रीय समिति बैठक चाँडै बस्नेबारे छलफल गरेको पनि प्रमुख सचेतक परियारले जानकारी दिए ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएका छन् । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । संसदीय दलको बैठक तत्काल बोलाइएको छैन, संसद् अधिवेशन आह्वान गरेपछि बस्ने बताइएको छ ।