बिर्तामोडमा दुई पसलमा राजश्वको छापा
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित दुई वटा पसलमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्वको टोलीले बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स स्टोर्स र जय माँ दुर्गा मार्वल सप्लायर्समा छापा मारेको हो ।
अनुसन्धान टोलीले ती दुईवटा पसलको स्टक बुकलगायतका कागजपत्र लिएर गएको बताइएको छ । ती पसलको बारेमा अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालय इटहरीका एक अधिकृतले जानकारी दिए ।
बिहान ११ः३० देखि दिउँसो ४ः३० बजेसम्म बिर्तामोड–३ स्थित सोनम भट्टराईले संचालन गरेको जय माँ दुर्गा मार्वल सप्लायर्स र बिर्तामोड–५ स्थित धिरज अग्रवालले संचालन गरेको पूजा इलेट्रोनिक्स स्टोर्समा राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत सरोज कोइराला र रामप्रसाद लुईटेलसहितको टोली आई चेकजाँच गरी आवश्यक कारबाहीको लागि केही कागजपत्रसहित स्टक जाँच गरी गएको ती अधिकृतले जानकारी दिए । साथै ती दुवै व्यवसायीलाई राजश्व कार्यालय इटहरीमा उपस्थित हुन निर्देशनसमेत दिएको जनाइएको छ ।