प्रेस सेन्टरद्वारा बधाई ज्ञापन, अधिवेशन पुष १३ गते
बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा विजयीसम्पूर्ण कार्य समितिलाई बधाई ज्ञापन गरेको छ ।
बुधबार सम्पन्न सेन्टरको बैठकले प्रेस सेन्टरको नेतृत्वमा बनेको श्रमजीवी पत्रकारहरुको साझा प्यानलको तर्फबाट विजयी महिला उपाध्यक्ष विनिता गौतम (बिनिशा शर्मा), सचिव पदमा निर्वाचित राजु पाठक, सदस्य (मधेसी) सन्तोष शर्मा र सदस्य (महिला) पदमा निर्वाचित भुकुमारी लिम्बु (भूमिका) सहित एकराज गिरी नेतृत्वको सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको हो ।
बैठकले चुनावको समीक्षा गर्दै अल्पमतमा रहेको प्यानलका उम्मेदवारहरुले जित्नु सजिलो नभएको निष्कर्ष निकालेको छ । बैठकले सम्पूर्ण मतदातालाई धन्यवाद दिने निर्णयसमेत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले विजयी प्रेस सेन्टरसहित सम्पूर्ण उम्मेदवारहरुलाई बधाई ज्ञापन गरे । दुई ठूला सत्ता पक्ष निकट संगठनले गठबन्धन गरेको अवस्थामा प्रेस सेन्टर निर्वाचनमा होमिनु आफैमा ठूलो जीत भएको उनले बताए ।
प्रेस सेन्टरको जिल्ला अधिवेशन पुष मसान्त भित्रमा सम्पन्न गर्नुपर्नेे केन्द्रीय सर्कुलर अनुसार झापाको अधिवेशन पुष १३ गते गर्ने निर्णय गरेको सचिव पुष्प खड्काले जानकारी दिए ।