सशस्त्र प्रहरीद्वारा झापामा ६ करोडको सामान पक्राउ
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपालले झापामा करिब ६ करोड मूल्य बराबरको अवैध सामान पक्राउ गरेको छ । चालू आवको ५ महिनाको अवधिमा सशस्त्र प्रहरीले ५ करोड ८५ लाख ३ हजार ८ सय रुपैया बराबरको अवैध सामाग्री पक्राउ गरेको हो ।
शुक्रबार बिहान ८:२० बजे सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरले भद्रपुर नगरपालिका ८ हडिया चिया बगान ईलाकामा सवारी साधन सहित ११ लाख ७१ हजार १ सय बराबरको अवैध फुटवल जुत्ता तथा छालाको बेल्ट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका सुचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक मदन कुमार रसाईलीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर-५ भन्सार चोक स्थित डब्ल्युबी५२जी९४१८ नम्बरको भरतीय सुजुकी कारमा फल्स होल बनाई लुकाएको अवस्थामा ६० जोर फुडबल जुत्ता, ४० थान छालाको बेल्ट र लाईटर बरामद गरेको हो ।
नेपालतर्फ आउँदै गरेको उक्त कार शंका लागि रोक्ने संकेत गर्दा नरोकी भागेपछि कारलाई पछ्याउने क्रममा भद्रपुर-८ स्थित हडिया चिया बगानमा चालक फरार रहेको अवस्थामा कार फेला परेको उनले जनाए ।
बरामद गरिएको समान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
सशस्त्र प्रहरीले मंसिर महिनाको २७ गते सम्म १ करोड २४ लाख ८८ हजार ४ सय ५७ सहित चालू आवमा ५ करोड ८५ लाख ३ हजार ८ सय रुपैया बराबरको अवैध सामाग्री पक्राउ गरेको हो ।