सञ्चालनको टुंगो नलाग्दै भ्यू टावरको उद्घाटन
बिर्तामोड । झापाको दमक नगरपालिका वडा नम्बर ३ दापगाछीमा निर्माण गरिएको भ्यू टावरको आज उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टावर उद्घाटन गरेका हुन् ।
उद्धेश्य र सञ्चालन मोडालिटी बिना नै १८ तले भ्यू टावरमा डेढ अर्बभन्दा बढी लगानी गरिएको छ । टावरमा के र कहिलेदेखि सञ्चालन गर्ने भन्ने अहिलेसम्म कुनै टुंगो लागिसकेको छैन । कतिपयले टावरमा प्रादेशिक अस्पताल सञ्चालन गर्नुपर्ने राय राखेका छन् भने कतिपयले व्यवसायीक कम्प्लेक्स सञ्चालन गर्नुपर्ने राय राखेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने गृहनगर दमकमा २०७६ सालमा टावरको शिलान्यास गरेका थिए । तेस्रो कार्यकालको प्रधानमन्त्री भएकै समयमा उनले देशकै अग्लो भनिएको यो टावरको उद्घाटन गरेका हुन् ।
सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश) जारी गर्दै यो टावरसहित काठमाण्डौको सुन्धारास्थित धरहरा, संघीय संसद् भवन रहेको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरको गोदावरीस्थित सनराइज सभा हल र रुपन्देहीको बुटवलस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सभा हल र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र’लाई विकास समितिमार्फत सञ्चालन गर्ने गरी विशिष्ट संरचनामा सूचीकृत गरेको छ । विकास समिति गठन आदेश मंसिर ३ गते राजपत्रमा प्रकाशित भइसकेको छ ।
निर्माणताका भ्यू टावर भनिएपनि अहिले ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको यो भव्य संरचना निर्माण गर्न १ अर्ब ५६ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । शहरी विकास मन्त्रालयको नेतृत्वमा निर्माण सम्पन्न गरिएको टावरलाई सञ्चालनका लागि निजी कम्पनीहरूसँग सहकार्य गरिने बताइएको छ ।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो बिजनेस कम्प्लेक्स चार बिगाह १६ कट्ठा क्षेत्रफलमा बनेको छ । यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँतलासहित १८ वटा तला रहेका छन् । ‘यो भ्यूटावर नभई आन्तरिक र बाह्य पर्यटक भित््रयाउने झापासहित कोशी प्रदेशकै एउटा ठूलो बिजनेस कम्प्लेक्स हो,’ सचिव सिग्देलले भने, ‘यस कम्प्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, कर्पोरेट लगायतका भवनहरू निर्माण गरिएको छ ।’
सिग्देलका अनुसार टावरको व्यवस्थापनका लागि केही प्रवेश शुल्क राखिनेछ भने सञ्चालनका लागि कम्पनीलाई लिजमा ठेक्का दिन सकिने योजना छ । तर हालसम्म कुनैपनि कम्पनी व्यवसाय सञ्चालनका लागि आइनसकेको बताइएको छ ।