नयाँ जुक्ति निकालेर गाँजा तस्करी
बिर्तामोड । पछिल्लो समय तस्करले नयाँ नयाँ जुक्ति निकालेर गाँजा तस्करी गरिरहेको पाइएको छ । निजी गाडीमा सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी भइरहेको खुलेको हो ।
प्रहरीले मंगलबार साँझ सुनसरीको धरान–१३ अमरहाटबाट सेतो नम्बर प्लेट राखिएका दुई वटा गाडीमा तस्करी हुँदै गरेको ठूलो परिणामको गाँजासहित एक जनालाई पक्राउ गरेको छ । धनकुटाबाट ल्याउँदै गरेको अवस्थामा धरानबाट प्रहरीले ६९० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
एक जना भने अझै फरार छन् । प्रहरीले गाँजा नियन्त्रणमा लिनका लागि चार राउण्ड फायर गरेको थियो ।
प्रहरीका अनुसार बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बर प्लेटको सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद भएको हो ।
गाँजा तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले जानकारी दिए । ‘निजी गाडीलाई नक्कली सरकारी नम्बर प्लेट राखिएको छ,’ उनले भने, ‘यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’
तस्करको समूहले यसअघि एम्बुलेन्स, इन्धन बोक्ने ट्यांकरमा पनि गाँजा तस्करी गरेको थियो । पछिल्लो समय सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको हो ।
सवारीसाधनहरू चेकजाँचका क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडी भागेपछि प्रहरीले गोली चलाएको थियो । यो गाडीलाई धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएका थिए ।
सरकारी नम्बर प्लेट राखिएको ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार तस्करको समूहले संघीय सरकारको कानुन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीको नम्बर तस्करीमा प्रयोग भएको गाडीमा राखेका थिए ।
‘यी नम्बर प्लेटका गाडी संघीय कानुन मन्त्रालय र अख्तीयारमा प्रयोग भइरहेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘चेकजाँच नहुने भएकले तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिन्छ ।’
सुनसरी प्रहरीले आइतबारपनि ३४० किलो गाँजा ट्रकमा लोड गरेर लैजाँदै गरेको अवस्थामा बरामद गरेको थियो ।