झापामा आगलागीको घटनामा वृद्धि
बिर्तामोड । पछिल्लो समय झापामा आगलागीको घटनामा वृद्धि भएको छ । हिउँद लागेसँगै घर, गोठ र परालको कुन्युमा आगलागीको घटनामा वृद्धि भएको हो ।
मंगलबार राति ११:४५ बजे गौरादहमा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ । गौरादह नगरपालिका वडा नं. ४ डोरामारी स्थित खड्ग बहादुर कार्कीको जस्ताको छानो, सिमेन्टको पिलर भएको १ तले गाई गोठ (ग्वाली) मा अचानक आगलागी हुँदा गाई गोठमा भएको खसी एउटा, माउबाख्रा एउटा, पाठापाठी ३ वटा, गाईको बाच्छी एउटा जलेको र एउटा गाई जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको समयमा त्यहि रहेका को १९ प ४४९८ र को १९ प ६६७८ नम्बरको मोटरसाईकल साथै अन्नपात पुर्ण रुपमा जलेर नष्ट हुँदा करिब १५ लाख बराबरको क्षति भएको जिप्रका झापाका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
गौरादाह नगरपालिकाको दमकलको सहयोगमा प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोली र स्थानीयबासील १२ः४० बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।