विराटपोखरीमा सन्ध्याकालीन भजन तथा सम्मान आयोजना
बिर्तामोड । विराटपोखरी (सरोवर बहुद्देश्यीय) विकास समितिद्वारा शुक्रबार सन्ध्याकालीन भजन कीर्तन तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । बालाचतुर्दशीको अवसरमा समितिले कार्यक्रम आयोजना गरेको हो ।
झापाको बिर्तामोड-३ स्थित ऐतिहासिक, पर्यटकीय र धार्मिकस्थल विराटपोखरीको प्रवर्द्धनका लागि समितिले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हिन्दु धार्मिक परम्परा अनुसार बालाचतुर्दशीलाई महत्वपूर्ण मानिन्छ । आफ्ना दिवंगत पितृहरूको मोक्षको कामना गर्दै बालाचतुर्दशीमा धार्मिकस्थलहरुमा सतबिज छर्ने गरिन्छ ।
पौराणिक कालदेखि नै महत्व बोकेको धार्मिकस्थल विराटपोखरीमा समेत द्वीप प्रज्वलन गर्न र सतविज छर्न भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
औपचारिक कार्यक्रममा राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा, नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराई, वडा सदस्य हरी बास्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईको अध्यक्षता र जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुलाई सचिव जगन्नाथ भट्टराईले स्वागत गरेका थिए । सहसचिव अर्जुन उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए ।
रात्रीकालीन कार्यक्रम अनुसार भजन कीर्तन शुरू भएको छ । यो समाचार तयार पार्दासम्म कीर्तन जारी रहेको छ ।