२०८३ बैशाख १९ गते , शनिबार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः सरोकारवालाको भूमिका

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १४ गते , शुक्रबार
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः सरोकारवालाको भूमिका

बिर्तामोड । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवालाले समाजमा लैंगिक हिंसाको स्थिति र यसका समाधानका उपायहरूमा आफूहरूले खेलेको भूमिकाबारे चर्चा गरेका छन् । झापाको बिर्तामोडमा शुक्रवार सम्पन्न कार्यक्रमका वक्ताहरूले महिलाको अधिकार र लैंगिक समानता सम्बन्धी धारणा व्यक्त गरेका हुन ।
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विद्यासागर मेहेताले सामाजिक सञ्जालबाट हुने ठगी रोक्न जनचेतना जगाउन आवश्यक भएको बताए । उनले भने, 'सामाजिक सञ्जालमा भइरहेको महिला विरोधी गतिविधिहरूलाई रोक्नका लागि जनचेतनामुलक कार्यक्रम आयोजना गर्नु पर्छ।'
झापा गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलियाले महिलाका समस्याहरूको संवेदनशीलतालाई सम्बोधन गर्नुपर्ने कुरामा जोड दिइन् । 'महिला सबै उपप्रमुख मात्र छन्, यस अर्थमा हामी नै हिंसामा परेका छौं,' उनले भनिन्, 'त्यस्तो गरिए त्यसको प्रतिकारमा लाग्ने छौं । परिवर्तन आफैबाट सुरु गर्नु पर्छ र व्यवहारमा उतार्नु पर्छ।'
मेचीनगर उपप्रमख मिना पोखरेल उप्रेतीले लैंगिक हिंसालाई महिला हिंसाको रुपमा मात्र सीमित नगरी सबैलाई सचेत गराउनु जरुरी भएको बताइन्। यसै क्रममा, दमक उपप्रमुख रेगिना भट्टराईले भौतिक मात्र नभएर मानवीय विकासमा पनि जोड दिनुपर्ने धारणा राखिन् ।
नेपाल बार एसोसिएसन झापा उपाध्यक्ष भीम बरालले हिंसाको दायरा अब थप फैलिरहेको र यसमा पुरुषहरू पनि पीडित बन्न सक्ने कुरा स्पष्ट गरे । उनले भने, 'हिंसा दोहोरो छ, पुरुष पनि पीडित छन्, यसमा सचेत हुन जरुरी छ।'
कार्यक्रमले लैंगिक हिंसा विरुद्ध व्यापक जनचेतना फैलाउन र यसलाई समाजका विभिन्न तहमा प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोग गरेको बताइएकोछ ।
अधिवक्ता कविता बास्तोलाले 'लैंगिक हिंसा: अवस्था, कारण र सुझाव ' विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कानुनमा नै महिला पुरुषको समान अधिकार उल्लेख गरिएको भन्दै त्यसको पूर्व कार्यान्वयनका लागि जोड दिए । उनले लैंगिक मात्र नभई जल, जमीन जस्ता श्रोतहरुलाई समेत हिंसा गर्न नहुने बताए ।
कार्यक्रम शान्ति र विकासका लागि सामाजिक सञ्जाल, अस्ट्रेलियन एड, अस्ट्रेलियन लुथरन र लुथरन वर्ल्ड फेडेरेसनको सहयोगमा मानव अधिकार सञ्जाल झापाले आयोजना गरेको कार्यक्रमका अध्यक्ष सञ्जालका झापा अध्यक्ष डा. रुपक खनाल रहेका थिए । कार्यक्रम सञ्जालका सदस्य टीकाराम धमलाले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार