बिर्तामोडको मोटरसाइकल ग्यारेजमा आगलागी
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित एउटा मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । आइतबार साँझ बिर्तामोड ६ बुटाबारीस्थित दिपक मोटरसाईकल वर्कसपमा आगलागी भएको हो ।
अन्दाजी ६:३५ बजे आशिष वनको घरको सटरमा अर्जुनधारा नगरपालिका वडा नं.११ बस्ने दिपक राजबंशीले भाडामा लिई सञ्चालन गरेको वर्कसपमा बिधुत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी र स्थानीयबासीले बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा ७:१५ बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको जिप्रका झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
आगलागीबाट वर्कसपमा मर्मतको लागि राखिएको स्कुटर १ थान, सुपर स्प्लेन्डर मोटरसाईकल १ थान, एयर कम्प्रेसर १ थान, मर्मतमा प्रयोग हुने बिभिन्न औजारहरु र उक्त कोठामा समेत भएको क्षति समेत गर्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।