नकलबन्दा टी–स्टेटले प्रयोग गरेको सरकारी जग्गामा मेचीनगरको डोजर
बिर्तामोड । झापाको मेचीनगरस्थित नकलबन्दा टी–स्टेटले प्रयोग गर्दै आएको सरकारी जग्गा मेचीनगर नगरपालिकाले खाली गराएको छ । बिहीबार नकलबन्दा टी–स्टेटले बर्षौंदेखि कब्जा गरि प्रयोग गरिरहेको सरकारी स्वामित्वको दश बिगाहा बढी सरकारी जग्गा मेचीनगर नगरपालिकाले खाली गराएको हो ।
सरकारी स्वामित्वमा रहेको भए पनि बर्षौदेखि मेचीनगर–५ स्थित प्राइभेट कम्पनी नकलबन्दा टी–स्टेटले उक्त जग्गा प्रयोग गरिरहेको पाइएपछि नगरपालिकाले खाली गराउन ताकेता गरेको थियो । बारम्बार ताकेता गर्दापनि टी–स्टेटले चासो नदिएपछि नगरपालिकाले बाध्य भएर आज सरकारी स्वामित्वको १० बिगाह ५ कठ्ठा ७ धुर जग्गा खाली गराएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । नकलबन्दा टी–स्टेटलाई नगरपालिकाबाट विभिन्न मितिमा सरकारी जग्गा खाली गरिदिन पत्र पठाइएकोमा त्यसलाई टी–स्टेट व्यवस्थापन समितिले बेवास्ता गरेको उनको भनाइ छ ।
नगर प्रमुख बुढाथोकीले साविक नकलबन्दा–७ का कि।न।हरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७,२७८,३७९, ३८०, ३८२, ३८३, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१, २३२, ३८४, ३८१ र ३९१ का जग्गाहरु मालपोत कार्यालय झापा भद्रपुरको मिति २०४८÷६÷२५ छुट जग्गा दर्ताको निर्णय पर्चाबाट दिनेश प्रसाद कानुको नाममा दर्ता भएका र दर्तावाल दिनेश प्रसाद कानुले उक्त जग्गाहरु र न। ५७८ क मिति२०५५÷६÷११को राजिनामबाट नकलबन्दा टी–स्टेट लाई बिक्री गरि नकलबन्दा टी–स्टेटको नाममा कायम हुन गएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंङ्गाल काठमाडौको च।न। ७९० मिति २०६६÷८÷२२ को निर्णय कार्यन्यन गर्ने सम्बन्धि पत्र तथा सोहि पत्र बमोजिम मालपोत कार्यलय भद्रपुरको मिति २०६६÷९÷६ को सदर टिप्पणीले नकलबन्दा टी– स्टेटको नाममा कायम माथि उल्लेखित जग्गा बदर गरि नेपाल सरकारको नाममा कायम रहेको व्यहोरा मालपोत कार्यालय झापाले आफुहरूलाई जानकारी गराएको र सोही बमोजिम स्थानीय सरकारको तर्फबाट राज्यको सम्पत्ति संरक्षण शुरू गरिएको उनको भनाइ छ । अब यस जग्गालाई आवश्यक छलफल गरि भरपुर सदुपयोग गर्ने गरि नगरपालिका लाग्ने उनको भनाई छ ।
स्थानीयबासीले नगरपालिकाको यो कदम स्वागतयोग्य रहेको बताएका छन् । अनुमानि बिना सरकारी जग्गा हडप्ने कार्य गलत भएको स्थानीय रामबहादुर राई बताउँछन् । उनले यस जग्गाको स्थानीय सरकारले आवश्यक प्रक्रिया पूरा गरि यथाशीघ्र सदुपयोग गर्नुपर्ने बताए ।