अवैध बाटोबाट नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक पक्राउ
बिर्तामोड । अबैध बाटो हुँदै नेपाल प्रवेश गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले दुई जना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । बुधबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बुधबार अन्दाजी २:०० बजे मेचीनगर नगरपालिका ७ गैरीगाउँ र भारततर्फ जिल्ला दार्जिलिङ्ग रानिगंज पञ्चायत २७ पानीट्याङ्की सीमा ईलाका स्थित सहायक सीमा स्तम्भ नं. ९०।३ पीपी-५१ नजिकै बोर्डर आउट पोष्ट सतिघट्टाबाट सशस्त्र प्रहरी हबल्दार सत्य नारायण राजवंशीको कमाण्डमा खटिएको सीमा पिकेट डिउटीले भारतबाट सीमा ईलाकाको अबैध बाटो हुँदै नेपालतर्फ प्रवेश गर्दै गरेको अवस्थामा बंगलादेश घर बताउने अन्दाजी बर्ष २२ को अब्दुल रहमान र अन्दाजी बर्ष २५ को रियाद हुसेनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक महेशराज बिष्टले जानकारी दिए ।
उनीहरुको साथबाट बंगलादेशी टाका १५०० र २ थान मोबाईल फेला परेको र कुनैपनि परिचय पत्र तथा नेपाल प्रबेश गर्ने अनुमति नभएको हुँदा नियन्त्रणमा लिई अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाइएको बिष्टले जानकारी दिए ।