त्यो जंगली हात्तीले आमालाई दिएको लामो आयू
ताप्लेजुङ, खोक्लिङ्मा पिता पं. खड्गबहादुर दास तथा माता निरमायाँको कोखबाट विसं १९९४ साल साउनमा जन्मिनु भएकी हाम्री आमाको यही २०८१ साल कार्तिक २१ गते बिहान ९:३० बजे ८७ वर्षको उमेरमा स्वर्गारोहण भयो । २०१४ सालमा ताप्लेजुङ्, तेम्मे निवासी बलबहादुर दर्नालसँग विवाह भै हामी दुई छोरा तीन छोरी १५ नातिनातिना र १० पनाति पनातिनीलाई छहारी दिनु भएको थियो, आमाले !
आमालाई म जन्मिनु अघि भारतको आसाममै हुँदा आँगनमा सुतेको बेला एक रात जंगली हात्तीले सुम्सुम्याएर गएछ ! अलिक माथिको गाउँमा पुगेर भने एक मानवीय क्षति गरेछ, त्यो हात्तीले । यसरी हात्तीको मुखबाट पनि बाँच्नु भएकी हाम्री आमाको यो लामो आयू सायद त्यही हात्तीले दिएको होला भन्ने लाग्छ !
अहिले जस्तो वैदेशिक रोजगारी जाने चलन थिएन यध्यपि सुरुवात र आवश्यकता भने त्यति बेलैदेखि रहेको पाईएकोछ । त्यसैले होला ०२० सालमा बुबासँगै आमा पनि आसाम जानु भै ८ वर्षसम्म अति नै खुशी र सुखद् जीवन गुजारेको हामीले सुन्थ्यौं । ५ सन्तान मध्ये दिदी, दाजु र मसम्म उतै जन्मिएछौं । ०२८ सालतिर भर्खरै म जन्मिएको एक महिनामात्र भएको रहेछ, त्यही बेला झापा जिल्ला तत्कालिन् शनिश्चरे ३, बाह्रघरे स्थित हाम्रो हजुर बुबा स्व. गजे दर्नाल पहाडबाट आएर बसोबास गर्नु भएको रहेछ । हजुरबुबाको दुई जना छोराहरु नै आसाम भासिएको देखेर चिन्तित बन्दै छोराहरुको खोजीमा आसाम पुग्नु भै आफ्नै देश फर्क, जे जस्तो उतै गर्नु पर्छ भनेर बुबालाई सम्झाउन थालेपछि केहीसिप नलागेर अन्तत आमा रुँदै एक महिनाको शिशु मलगायत तीन जना बच्चाहरु च्यापेर भर्खरै जिवनको गोरेटोको लय समात्दै गरेको आसामे घर गृहस्थी त्याग्नु पर्दाको पीडा मुटुमै गाँठो पारेर झापा हानिनु भएको भन्दै सुनाउँनु हुन्थ्यो हामीलाई ।
ईमान्दार, खरो र प्रष्ट बोली ब्यवहारको कारण हाम्रो बुबा आसामका गाउँका मुखियाका प्रिय पात्र हुनुहुन्थ्यो रे । त्यो बेला यही कारणपनि होला हाम्रो परिवारलाई बिदा गर्न रेल स्टेशनसम्म गाउँले दाजुभाईहरु आउनु भएको थियो रे । ती अभिभावक मुखिया बा, ती गाउँले दाजुभाईहरु कस्ता थिए र हाल के कस्तो अवस्थामा हुनुहोला भन्ने मेरो मनमा आईरहन्छ अहिले पनि ।
०२८ सालमा शनिश्चरे त्यसपछी पुनः २०३७ सालमा हाम्रो परिवार बसाईँसराई गरेर सुनौलो भविष्यको खोजीमा बिर्तामोड झर्यो । त्यहाँदेखि आजसम्म यही ठाउँको बसाई छ । स्यालडाँगीमा धेरै खेतिपाती गरियो, दुःख कति गरियो कति । रमाईलोपनि त्यही दुःख भित्रै लुकेको रहेछ जुन आज बुझिदैछ ।
हाम्रो बुबाको स्वभाव धेरै कडा, त्यसको भोगाई आमाले पनि यतिका दिनसम्म भोग्नु भयो । फेरि पनि आमाको जीवन सरल, शान्त, कसैलाई नबिझाउने, बुबाले हामीलाई ठूलो स्वरले गाली गर्दा, कुट्न झम्टिदा नगर्नु भैगो भन्दै सुरक्षाकवच बनेर अगाडि उभिएर छेकिदिनु हुन्थ्यो । ती दिन सम्झिदा र अहिले आमा नहुदा नमज्जा हुने नै भो । थाहा पाएदेखि हाम्रो यो उमेरसम्म आमाले कहिल्यै गाली गर्नु भएन अरु त परको कुरा ।
सादा जीवन, खाने लाउने कुरामा लोभ नगर्ने, हामीले थाहा पाएदेखि सुगुर र राँगाको मासु कहिल्यै खानु भएन आमाले । जबकी हाम्रो घरमा अधिकांश पाक्ने नै त्यही हुन्थ्यो । आसाममा हुँदा के हुदो रहेछ भनेर आमाकै लागि पाक्दै गरेको कुखुराको सब्जीमा एउटै डाढु चलाई दिनु भएछ बुबाले एक दिन आमालाई थाहै नदिइकन, खाईसकेपछि आमालाई वान्ता भएछ । त्यसप।छ बुबाले पनि पत्याउँनु भएछ ।
म एक कक्षा पढ्दा आमाले ८ आना,१२ आना खाजा खाने पैसा दिनु हुन्थ्यो । म धेरै अनुशासित त्यो बेला । कैयौं पटक त्यो पैसा खर्च नगरी आमालाई नै लगेर दिन्थें । आमा भन्नु हुन्थ्यो किन खाजा नखाएको यस्तै यस्तै धेरै पटक भन्नुहुन्थ्यो । मेरो छोरो ज्ञानी ! त्यही भएर पनि होला आमालाई खुशी पार्न नै होला पटक पटक पैसा फिर्ता लान्थें । अर्को कुरा मेरो आमा जहिल्यैको पैसावाल लाग्ने, जहिल्यै पैसा माग्यो कि छैन छैन भन्दै अन्तिममा पटुकीको चेपबाट ५ रुपैयाँ निकालेर दिनु हुन्थ्यो जुन मेरो लागि संसार थियो । त्यस्ती हाम्री आमा । बुबा सकुशल हुनुहुन्छ, आमा बितेर जानू भयो । यो बेलासम्म हाम्रो परिवारलाई कुनै एक पैसा ऋणको बोझ बोकाएर जानू भएन बरु हाम्रो परिवारलाई पुग्दो जायजेथा छोडेर जानू भो आमाले । यो हामी सन्तान र दरसन्तानले मनन् गर्ने एक अर्को सम्पत्तिपनि हो ।
धेरै खेती गर्ने भएकोले होला घरमा बुबालाई कम्तिमा ५ पटक त्यो बेला र हाल २ पटक जाँड वा तोङ्बा अनिवार्य चाहिने । यस्तो अवस्थाको पारिवारिक परिवेशमा पनि मेरो आमाले कहिल्यै नशा पानी लिनु भएन, त्यतातिर ध्यानै दिनु भएन । बुबाको लागि घरैमा बनाई दिनु हुन्थ्यो आफू भने सादगी सधैं । हालै एक प्रसंगमा आमालाई सोधेको थिएँ– किन कहिल्यै मदिरा लिनु भएन नि ? आमाले भन्नू भो– ‘छोरी मान्छेले त्यसरी गर्नु हुदैन, नारीको गरिमा कायम राख्नु पर्छ ।’ छोरी मान्छे नशामा लठ्ठीएर बस्दा कस्तो देखिएला ? भन्दै प्रतिप्रश्न गर्नु भएको थियो ।
आमाको अन्तिम अवस्थामा हामी सबै पाँचै जना छोरा छोरीले सेवा गर्न पायौं । कान्छी छोरी अम्बिका र उनकी छोरी अल्का नर्सिङ् फिल्डका भएकाले उनीहरुबाट भरपुर मेडिकल सेवा पाउनु पनि हाम्रो र आमाको लागि सुखद् रहयो । वर्ष दिनको चाड सकेर सबै तयारी गर्ने समयसमेत दिनु भएर आमाले अनन्तको सुखद् यात्रा तय गर्नु भएकोमा हामी परिवार भाग्यशाली ठान्दछौं । आमा मेरी आमा तपाईं जस्तो सरल जीवनकी प्रेरणाले भरिएको साथमा मेरो र हाम्रो जन्म हुनु एक अहोभाग्य भन्ने लागेको छ । फेरि पनि आमाकै कोखबाट जन्मिन पाईयोस् हामीले । भावपूर्ण श्रद्धाञ्जली आमा, हजुरको अनन्त यात्रा अबिरल रहोस् ।
निजी निवास
बिर्तामोड–५, त्रिवेणी टोल
राष्ट्रिय बाणिज्य बैंक (पिज्जा घर) पश्चिमपट्टि
दिवंगत आमाप्रति परिवेश मिडिया परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।