अग्नी पीडितलाई बिर्तामोड ८ ले दियो राहत
बिर्तामोड । झापाको बिर्तामोड-८ प्याकुरेल चोकका आगलागी पीडित परिवारलाई बिर्तामोड नगरपालिका ८ नम्बर वडा कार्यालयले राहत वितरण गरेको छ । आज बिहान पीडतको घरमा पुगेर वडाध्यक्ष अजय कार्कीसहितको टोलीले राहत प्रदान गरेको हो ।
वडाध्यक्षसहित वडा सदस्यहरु अग्निप्रसाद सिटौला, इन्दिरा पाण्डे, सोयालाल राजवंशी, लक्ष्मी नेपालीलगायतले अग्नीपीडित शिवलाल गौतमको परिवारलाई ग्यास चुल्हो, खाद्यान्न, भाडावर्तनलगायत गरी २१ हजार ४०० रुपैयाँ बराबरको राहत वितरण गरेका हुन् ।
आगलागीबाट गौतमको करिव १० लाखको क्षति भएको बताइएकोछ । गएराति ८.३० बजे गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा कोठामा अचानक आगलागी भएको थियो । आगलागीबाट भान्सा पूणर् रुपमा जलेर नष्ट हुँदा त्यसभित्र रहेका २ वटा ग्यास सिलिण्डर पड्किएको थियो । आगलागीबाट एउटा ग्यास चुलो, अन्य भाडाबर्तन, अन्नपात, एउटा स्कुटर र घरको दक्षिण साइडको बरण्डाको भाग समेत जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा छिमेकी मोहन तिमल्सिना घाइते भएका थिए । उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको छ । स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूणर् रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।