समाचार प्रभाव : कनकाई बिर्ता अर्जुनमा गरिएको लगानी फिर्ता गर्न माग
बिर्तामोड । झापाको कनकाई–२ सुकेडाँगीस्थित सन्काखोला किनारमा रहेको कनकाई–बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडमा बिर्तामोड नगरपालिकाले गरेको लगानी फिर्ता गर्न माग गरिएको छ ।
परिवेश मिडियामा केहि दिन अघि 'कनकाई बिर्ता अर्जुनमा लगानी बालुवामा पानी : मासिक साढे १३ लाख खर्च, आम्दानी शुन्य’ शिर्षकमा समाचार प्रकाशित भएपछि नेकपा एकिकृत समाजवादीले बिर्तामोड नगरपालिकामा रकम फिर्ता गर्न ज्ञापन पत्र बुझाएको हो ।
यो पनि पढ्नुहोस
कनकाई बिर्ता अर्जुनमा लगानी बालुवामा पानी : मासिक साढे १३ लाख खर्च, आम्दानी शुन्य
नगरमा उत्पादित फोहोरलाई मोहरमा बदल्ने महत्वाकांक्षी योजनाका साथ शुरु गरिएको कनकाई बिर्ता अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लि.ले निर्माण गरेको बायोग्यास प्लान्ट र पेभर्स बनाउने योजना असफल बन्दै गएपछि नेकपा एसले त्यहाँ गरिएको लगानी फिर्ता गर्न आइतबार नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापन पत्र बुझाएको हो ।
बिर्तामोड नगरपालिकाले २०७९ सालमा कार्यपालिका बैठकको निर्णयबाट फोहोर व्यवस्थापन गर्ने नाममा २ करोड ५४ लाख रुपैयाँ लगानी गर्ने निर्णय गरेको थियो । बिर्तामोड नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरित नगर प्रमुखकै शेयर रहेको उक्त कम्पनीमा लगानी गरेको हो ।
बिर्तामोडसँगै कनकाई र अर्जुनधारा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्धेश्यले कम्पनी स्थापना गरेका थिए । तर उद्धेश्य अनुरुप काम अगाडी नबढेपछि कम्पनीमा गरिएको लगानी उच्च जोखिममा परेको छ । बिर्तामोडसँगै अर्जुनधारा नगरपालिकाले २ करोड ३९ लाख, कनकाई नगरपालिकाले २ करोड ३६ लाख ८३ हजार दुई सय लगानी गरेको छ भने विश्व बैंकले ४ करोड ८९ लाख अनुदान दिएको छ । कम्पनीले बैंकको २ करोड ५० लाख कर्जा रहेको छ ।
‘हाल फोहोर व्यवस्थापन नभएको र कम्पनी नै टाट पल्टिने अवस्थामा रहेकोले लगानी गरेको नगरपालिकाको सम्पत्ति तुरुन्त फिर्ता गरियोस्,’ एकीकृत समाजवादीले बिर्तामोड नगर प्रमुख प्रसाईलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै एकीकृत समाजवादीले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको निराकार कम्पनीको ठेक्का प्रक्रिया तुरुन्त रद्ध गर्न मागसमेत गरेको छ । ज्ञापनपत्रमा भनिएको छ 'विवादित निराकार भन्ने कम्पनीलाई विगतमा जिम्मेवारी दिइएको, हाल पनि उक्त कम्पनीले गरिरहेको, के यो कम्पनीको ठेक्का अवधि सकिदैन ? त्यसकारण यस्ता कम्पनीको, ठेक्का प्रक्रिया तुरुन्त रद्द गरियोस् ।’
समाजवादीले ज्ञापनपत्रमार्फत भूमिहीन सुकुम्बासीलाई नगरवासी बनाउनका लागि तुरुन्त धनीपुर्जा दिने व्यवस्था गर्न, धनीपुर्जा दिन नसकिनेलाई बसोबासको ग्यारेन्टी गर्न, बिर्तामोड नगर अस्पतालको आफ्नै फार्मेसी तुरुन्त संचालन गर्न, वडाका सहरी स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न, बिर्तामोड नगरपालिका भित्रका निजी विद्यालयहरुमा पहुँचवाला र आफन्तहरुलाई मात्र छात्रवृत्ति दिलाउने गरिएकोमा यसको अन्त्य गरि पाउनु पर्ने सम्बन्धित लक्षित वर्गले प्राप्त गर्ने व्यवस्था गर्न, बुधवारे देवी हाटमा तुरुन्त भवन बनाउने प्रक्रिया अगाडि बढाउन, बिर्तामोडमा ढिलासुस्ती नगरी तुरुन्त सार्वजनिक शौचालय निर्माण गर्नलगायतका १४ बुँदे माग राखेको हो ।
नगर अध्यक्ष श्रीप्रसाद सिटौलासहित झापा जिल्ला उपाध्यक्ष बासु दुलाल, झापा महिला उपाध्यक्ष सरस्वती लिम्बू, सुशिला बराल, जिल्ला सदस्य लक्ष्मण खतिवडा, नगर इन्चार्ज श्रीप्रसाद मिश्र, सह–इन्चार्ज गोपी अधिकारीले संयुक्त रुपमा नगर प्रमुख प्रसाईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले कार्यपालिका बैठकमा छलफल गरेर जायज र समाधान हुन सक्ने मागहरुलाई सम्बोधन गर्ने आश्वासन दिएकी छन् ।