कनकाई बिर्ता अर्जुनमा लगानी बालुवामा पानी : मासिक साढे १३ लाख खर्च, आम्दानी शुन्य
बिर्तामोड । नगरको फोहोर व्यवस्थापन गरी मोहर कमाउने परिकल्पनाका साथ शुरु गरिएको कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी लि. यति बेला भालुको कन्पट भएको छ । कनकाई नगरपालिका २ सुकेडाँगीमा तामझामका साथ २०७६ वैशाख ७ गते तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको बायोग्यास प्लान्ट निल्नु न ओकल्नु बन्दै गएको हो ।
कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकामा उत्पादन हुने फोहोर व्यवस्थापन गरी बायोग्यास र कम्पोष्ट मल उत्पादन गर्ने र त्यसलाई बिक्री गरी आम्दानी गर्ने परिकल्पनाका साथ शुरु गरिएको कम्पनी पछिल्लो समय लगानीकर्ताहरुलाई घाँडो बन्दै गएको हो । परिकल्पना अनुसार काम नहुँदा व्यक्ति, पालिका तथा दातृनिकायको करोडौँ रकम डुब्ने अवस्थामा पुगेको छ । चार वटै पालिकाले २ करोड ५४ लाखका दरले लगानी गर्ने सम्झौता भएपनि बिर्तामोड बाहेक अन्य पालिकाले सम्झौता अनुसार लगानी गरेका छैनन् भने मेचीनगर नगरपालिकाले पैसा नै दिएको छैन ।
कम्पनीका प्रशासन प्रमुख गणेशबहादुर कार्कीका अनुसार कम्पनीमा बिर्तामोड नगरपालिकाले सम्झौता अनुसार २ करोड ५४ लाख, कनकाई नगरपालिकाले २ करोड ३६ लाख ८३ हजार दुई सय र अर्जुनधारा नगरपालिकाले २ करोड ३९ लाख रुपैँया लगानी गरेका छन् । बिर्तामोड नगरपालिकाले कम्पनीको घेराबारा निर्माणमा निवर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले १५ लाख रुपैँया निकासा गरेको र निजी कम्पनीमा अरु लगानी नगर्ने बताएपनि हालका नगरप्रमुख पवित्रा महतारा प्रसाईले बाँकी रकम निकासा गराएकी हुन् ।
कम्पनीलाई बैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रमार्फत विश्व बैंकले ४ करोड ८९ लाख रुपैँया अनुदान दिइसकेको छ भने ५० लाख अनुदान दिने प्रक्रियामा रहेको कार्कीले जानकारी दिए । उनका अनुसार सर्वसाधारणमार्फत कम्पनीले गत आवसम्ममा ६३७ जनाबाट ४ करोड एक लाख ८० हजार रुपैँया शेयर रकम जम्मा गरेको छ । कम्पनीले वित्तीय संस्थाबाट लिएको ऋण २ करोड ५० लाख रुपैँया बुझाउन बाँकी छ ।
कम्पनीले सन्का खोलासँगै २० कठ्ठा ऐलानी र ३८ कठ्ठा नम्बरी जग्गा खरिद गरी घेराबारा गरेको प्रशासन प्रमुख कार्कीको भनाई छ । खोलासँगै गरिएको कम्पाउण्ड वाल बाढीका कारण भत्किएको छ ।
परियोजना अनुसारको दक्ष जनशक्ति, दीर्घकालिन योजना र नगरपालिकाहरुले निर्माण गर्ने फोहोर मैला व्यवस्थापन नीति र त्यसको कार्यान्वयनमा देखिएको उदासिनताका कारण कम्पनी समस्यामा परेको देखिएको छ ।
बायोग्यास प्लाण्टका लागि आवश्यक कुहिने फोहोर नगरपालिकाहरुले छानेर ढुवानी गर्ने सम्झौता भएपनि फितलो नीति र कार्यक्रमका कारण पालिकाहरुले फोहोर ढुवानी गर्न सकेका छैनन् । अस्पताल तथा घरबाट जम्मा हुने सेनेटरीजन्य पदार्थका कारण वातावरणमा प्रतिकुल असर परेको भन्दै स्थानीयबासीले कम्पनीमा फोहोर लैजान अवरोध गरेका थिए ।
कम्पनीमा फोहोर छुट्याउने सेग्रिगेटर मेसिन भएपनि दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासीको अवरोधका कारण दुई महिनादेखि कम्पनीमा फोहोर जम्मा हुन नसकेको कार्कीले बताए ।
बिर्तामोड नगरपालिकाले कुहिने फोहोर बोक्ने छुट्टै गाडीको व्यवस्था गरेपनि फोहोर ढुवानी गर्न सकेको छैन ।
कम्पनीले आफ्नै गाडीमा राखेर बिर्तामोड र कनकाईको कृषि बजारबाट फलफुलजन्य फोहोर संकलन गरिरहेको कार्कीले बताए । दैनिक ४० मेट्रिक टन फाहोर खपत गर्न सक्ने प्लाण्ट भएपनि अहिले दैनिक २ मेट्रिक टन फोहोरमात्र संकलन भइरहेको छ । कम्पनीले खर्च धान्नका लागि दैनिक २० मेट्रिक टनमाथि फोहोर प्रशोधन गर्न सक्नु पर्ने कार्कीको भनाई छ ।
तुहियो पाइपलाइन विस्तार योजना, उत्पादिन ग्यास प्रयोग गर्न कठिनाई
प्लान्टबाट उत्पादित ग्यास प्रयोग गर्न समेत कठिनाई देखिएको छ । एलपी ग्यास प्रयोग गरिरहेका उपभोक्ताहरुका लागि बायोग्यास प्रयोग गर्न असहज देखिएको छ । प्लाण्टबाट उत्पादन हुने ग्यासमा ९४–९६ प्रतिशत मिथेन ग्यास हुने र हाइ कम्प्रेसरले सिलिण्डर भरिने भएकाले एलपी ग्यास जस्तो सहज रुपमा भान्सामा प्रयोग गर्न नसकिने देखिएको छ । कम्पनीले वितरण गर्ने सिलिण्डरमा एलपी ग्यासमा प्रयोग हुने रेगुलेटर नमिल्ने र छुट्टै पीआरपी जोड्नु पर्ने जसले सिलिण्डरबाट निस्किएको ग्यासको प्रेसर कम गर्ने कम्पनीका प्रोजेक्ट इन्जिनियर रुपक कार्कीले जानकारी दिए ।
कम्पनीमा हाल ९० वटा सिलिण्डर रहेको र परीक्षण प्रयोगका लागि कनकाईको होटल डिलाइट र लोटसमा केहि सिलिण्डर पठाइएको उनले बताए ।
कम तौलको सिलिण्डर र छुट्टै पीआरपी जडान गर्नु पर्ने भएका कारण एलपी ग्यास प्रयोगकर्ताले सहजै बायोग्यास प्रयोग गर्न सक्ने अवस्था देखिँदैन ।
कम्पनीले पाइपलाइनमार्फत एक हजार दुई सय घरमा ग्यास आपूर्ति गर्ने योजना बनाएको भएपनि त्यो सफल हुन सकेको छैन ।
पेभर्स उत्पादन गर्ने कम्पनीको योजना अन्योल
प्लाष्टिकजन्य नकुहिने फोहोरबाट कम्पनीले पेभर्स बनाउने आकर्षक र महत्वपूर्ण योजना बनाएपनि जडान गरिएको मेसिनका कारण कम्पनीको योजना अन्योलमा परेको छ । दैनिक ५ हजार पेभर्स बनाउने मेसिनका लागि बोलपत्र आह्वान गरिएपनि २६० वटा मात्र पेभर्स बनाउने मेसिन जडान भएपछि कम्पनीको योजना अलपत्र बनेको हो ।
दमकको राज ट्रेडर्सले मेसिन आपूर्ती गर्ने ठेक्का पारेपनि स्पेसिफिकेशन अनुसारको मेसिन आपूर्ती नभएको प्रशासन प्रमुख कार्कीले जानकारी दिए । ‘दैनिक ५ हजार पेभर्स बनाउने मेसिनका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो,’ उनले भने, ‘तर अहिले यहाँ जडान भएको मेसिनले दैनिक २६० देखि अधिकतम ३ सय भन्दा बढी पेभर्स उत्पादन गर्न सकेन ।’ बोलपत्रमा उल्लेख गरिए अनुसार मेसिन आपूर्ती भएको भए पेभर्सबाटै कम्पनीले मुनाफा गर्न सक्ने कार्कीले बताए । तर, अत्यन्त कम उत्पादन क्षमताको मेसिन आएका कारण उत्पादन बन्द गरिएको उनको भनाई छ । कम्पनीले १ करोड ९१ लाखमा ठेक्का खुलाएको थियो ।
फोहोर छुट्याउने मेसिन ८९ लाख र पेभर्स बनाउने मेसिन गरी आपूर्तीकर्ताले ६० लाख रुपैँया भुक्तानी लगिसकेको कार्कीले जानकारी दिए । स्पेसिफिकेशन अनुसारको मेसिन आपूर्ती नभएकाले बाँकी भुक्तानी कम्पनीले रोकेको छ ।
प्लाष्टिकजन्य फोहोरबाट निर्माण गरिएको पेभर्सको माग अधिक भएपनि उत्पादन गर्न नसकिएको कार्कीको भनाई छ ।
अधिक खर्च, आम्दानी शुन्य
कम्पनीले १६ करोड ६४ लाख रुपैँया अनुमानित लागतमा कम्पनी शुरु गरेको थियो । तर समयमा काम सम्पन्न नहुँदा मेसिनेरी सामानमा आएको टुटफुट र बढ्दो महंगीका कारण परियोजनाको लागत बढ्ने देखिन्छ ।
कम्पनीका हाल ४ जना कामदार कार्यरत रहेको कार्कीले बताए । व्यवस्थापन, मजदुर, प्राविधीक, सुरक्षा गार्डको तलब, बैंक व्याज तथा विद्युत महशुलआदिमा मासिक १३ लाख ५० हजार खर्च हुने गरेको प्रशासन प्रमुख कार्कीले जानकारी दिए । प्लान्ट शुरु भएको १ बर्ष भएपनि व्यवसायीक उत्पादन नहुँदा कम्पनीको आम्दानी भने शुन्य छ ।
नगरपालिकाहरुले स्पष्ट नीति निर्माण गरी फोहोर छुट्याएर नियमित ढुवानी गर्न नसक्ने र कम्पनीले पेभर्स निर्माणको योजना तत्कालै अगाडी बढाउन नसक्ने हो भने वित्तीय संस्थाको व्याज, कर्मचारीहरुको तलब, विद्युत महशुल, मेसिनरी सामानको डिप्रिसिएसन आदिका कारण कम्पनीलाई आर्थिक भार थपिँदै जाने र लगानी भएको करोडौँ रकम जोखिममा पर्ने सम्भावना उच्च छ ।