२०८१ जेष्ठ ५ गते , शनिबार

दुर्व्यवहार मुद्दा फिर्ता नलिएपछि आफ्नै छात्रामाथि गोली प्रहार

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २२ गते , शनिबार
दुर्व्यवहार मुद्दा फिर्ता नलिएपछि आफ्नै छात्रामाथि गोली प्रहार

बिर्तामोड । झापाको दमक नगरपालिका-५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो छात्रामाथि भएको गोली प्रहारमा आफ्नै शिक्षक संलग्न भएको आशंका गरिएको छ ।
दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आए लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे ।
इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी निशान थापा कमान्डको टोली घटनास्थल पुगेर छात्राको ‘रेस्क्यु’ गर्‍यो । उदयपुर घर भई दमक-५ बस्दै आएकी १८ वर्षीया एनिका अधिकारी गजमेर कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेको अवस्थामा गोली प्रहार भएको खुलेपछि प्रहरीले अस्पताल पुर्यायो ।
अनुसन्धानको क्रममा सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका गरिएको प्रहरीले जनाएको छ । उदयपुरमा कार्यरत रहेको बेला यादवले दुव्यर्वहार गरेपछि किशोरीले साउन २०७९ प्रहरीमा जाहेरी दिएकी थिइन् ।
यादवले मुद्दा फिर्ता लिन प्रलोभन देखाए, दबाब दिए । तर किशोरीले मुद्दा फिर्ता नलिएपछि उनी फरार भएका थिए । शुक्रबार परीक्षा दिएर फर्किएकी किशोरी अगाडि गएर मोटरसाइकल रोक्दै यादवले मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।
तर कुनै जवाफ नदिएपछि तँ, तेरो दिदी र …(जाहेरी हाल्न सघाउने व्यक्ति) लाई नमारी म जेल जान्नँ’ भन्दै किशोरीमाथि गोली हानेको एक अनुसन्धान अधिकारीले जानकारी दिए ।
स्थानीय एक अस्पतालमा उपचाररत किशोरीको पेटमा डढेको, दबेको र बढारिएजस्तो चोट छ । यद्यपी उनको शरीरभित्र भने गोली प्रवेश नगरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा एसपी मिलन केसीले जानकारी दिए ।
गोली हान्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । भारतीय सीमा नाकाहरूमा विशेष निगरानी बढाएको र बाहिरी जिल्लाहरूमा समेत टोली खटाएर अनुसन्धानलाई तीब्रता दिएको उनले बताए । 

सम्बन्धित समाचार