२०८३ बैशाख १९ गते , शनिबार

ट्रष्ट टीम नेपाल कल्याणकारी कोषको घोषणा, रिजाल र दाहालले दिए सहयोग

sajilo news
परिवेश मिडिया
२०८० भाद्र २६ गते , मंगलबार
ट्रष्ट टीम नेपाल कल्याणकारी कोषको घोषणा, रिजाल र दाहालले दिए सहयोग

बिर्तामोड । सामाजिक संस्थाको रुपमा स्थापित ट्रष्ट टीम नेपालले कल्याणकारी कोष स्थापनाको घोषणा गरेको छ । मंगलबार बिहान एक कार्यक्रम आयोजना गरी ट्रष्ट टीमले कल्याणकारी कोष स्थापनाको औपचारीक घोषणा गरेको हो ।

कोष स्थापनाको घोषणासँगै कोषमा रकम समेत जम्मा हुन शुरु भएको छ । आज जन्मदिनको अवसरमा संस्थाका संस्थापक सदस्य सागर रिजालले कल्याणकारी कोषमा दश हजार रुपैँया सहयोग गरेका छन् ।

त्यस्तै अर्का सदस्य गीता (उर्मिला) पौडेलले छोरी आशिका दाहालको जन्म दिनकै अवसरमा एघार हजार एक सय एघार रुपैँया सहयोग गरेकीछन् । दाहालको गत २१ गते जन्म दिन परेको थियो ।

रिजालले प्रत्येक जन्मदिनमा केहि न केहि सामाजिक काम गर्दै आएको र यो बर्ष आफ्नै संस्थाको कल्याणकारी कोषमा रकम सहयोग गरेको बताए । मानव जीवनका विभिन्न अवसरमा गरिने अनावश्यक खर्चलाई कल्याणकारी काममा खर्च गर्दा समाज विकासमा टेवा पुग्ने बताउँदै सबैलाई त्यस्ता अनावश्यक रुपमा गरिने खर्च कटौती गरी कोषमा सहयोग गर्न रिजालले आग्रह गरे ।

त्यस्तै पौडेलले आफ्नी छोरीको जन्म दिनमा हरेक बर्ष बाल तथा वृद्धाआश्रमहरुमा सहयोग गर्दै आएको र यो बर्ष आफ्नै संस्थाको कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।

कोषमा सहयोग गरेको भन्दै ट्रष्ट टीम नेपालले उनीहरुलाई प्रशंसा पत्र प्रदान गर्दै दीर्घ जीवनको कामनासहित जन्म दिनको शुभकामना दिएको थियो ।

हिन्दु संस्कार अनुसार पण्डितबाट मन्त्रोच्चारण गरी कार्यक्रम उद्घाटन गरिएको थियो भने उपस्थित सबैले रिजाललाई जन्म दिनको शुभकामना दिएका थिए ।

ट्रष्ट टीमले एक बर्षभित्र कल्याणकारी कोषमा १० लाख रुपैँया पुर्याउने लक्ष्य लिएको संयोजक खिवराज दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार