२०८३ बैशाख १९ गते , शनिबार

आज आत्महत्या रोकथाम दिवस, झापामा सरदर २७ घण्टामा एक जनाले गर्छन् आत्महत्या

sajilo news
परिवेश मिडिया
२०८० भाद्र २४ गते , आईतबार
आज आत्महत्या रोकथाम दिवस, झापामा सरदर २७ घण्टामा एक जनाले गर्छन् आत्महत्या

बिर्तामोड । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्।

आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।

वरिष्ठ मनोचिकित्सक डा. आभाष निरौला सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताउछन् ।

झापामा सरदर २७ घण्टामा एक जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । पछिल्लो तीन बर्षको तथ्याङ्को हेर्दा ९६५ जनाले आत्महत्या गरेको पाइएको छ । जसमा २७१ जना महिला, ६ सय जना पुरुष, ६४ जना बालिका र २९ जना बालक रहेका छन् । सबैभन्दा बढी आत्महत्या गर्ने १६ देखि २५ बर्ष उमेर समूहका युवायुवती रहेको पाइएको छ ।

तीन बर्षको तथ्याङ्क हेर्दा झापामा आत्महत्याको घटना स्थीर रहेको देखिन्छ । आव ०७७÷७८ मा ३३४ जना, ०७८÷७९  मा ३१४ जना, ०७९÷८० मा ३१७ जना र चालु आवको शनिबारसम्ममा २५ पुरुष र ९ जना महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  

मनोचिकित्सक डा. निरौला आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै सङ्केत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउँछन् । परिवार वा अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाइ छ । मानिसले मानसिक स्वास्थ्य, आर्थिक अवस्था, प्रेम वियोग, लागूपदार्थको कुलत, झोँक आदिका कारण आत्महत्या गर्ने डा. निरौंला बताउँछन् ।

सम्बन्धित समाचार