अश्लिल भिडियो भाइरल भएपछि राईलाई हाजिर गर्न रोक, लेखा अधिकृत महिलाको जिम्मेवारी खोसियो
बिर्तामोड । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा सोहि पालिकाको लेखा अधिकृतसँग गरेको भनिएको अश्लिल भिडियो भाइरल भएपछि काजीमान राईलाई कार्यालयमा हाजिर गर्न रोक लगाइएको छ ।
उनी सरुवा भएर झापाको बाह्रदशी गाउँपालिकामा भदौ १४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए । तर, उनको उक्त भिडियो भाइरल भएपछि आज (शुक्रबार) बसेको गाउँपालिकाको बैठकले राईलाई हाजिर नगराउने निर्णय गरेको छ ।
उता, माइजोगमाई गाउँपालिकाले पनि राईलाई विभागीय कारबाही सिफारिस गरेको छ । लेखा अधिकृत महिलासँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भनिएको भिडियो बाहिरिएपछि राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिसको निर्णय गरेको हो ।
गाउँ कार्यपालिका बैठकले घटनामा संलग्न लेखा अधिकृतलाई तत्कालका लागि जिम्मेवारीमुक्त गर्ने र सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको पालिका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिए । ‘ती कर्मचारीको हर्कतले सिङ्गो गाउँपालिका परिवार दुःखी भएको छ,’ अध्यक्ष थेबेले भने, ‘यो घटनाले गाउँपालिका, जनप्रतिनिधि, कर्मचारी र गाउँवासीको मान–प्रतिष्ठामा आँच पुगेको, मानमर्दन भएको हामीले महसुस गरेका छौँ ।’
मंगलबार बाहिरिएको भिडियो सिसिटिभीको हो वा होइन र कसरी बाहिरियो भन्नेबारे सत्य–तथ्य पत्ता लगाउन मन्त्रालयलाई नै छानबिनका लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । पालिकाको पुरानो भवनमा साउन १८ मा भएको आगलागीको घटना छानबिन गर्न पालिका अध्यक्षकै अध्यक्षतामा साउन २१ मा समिति गठन भएपनि अहिलेसम्म कुनै तथ्य बाहिर आउन सकेको छैन । ‘आगलागीको घटना छानबिन गर्न समितिमा विज्ञ प्राविधिक समेत आवश्यक परेकाले उनकै परामर्शमा अध्ययन प्रतिवेदन तयार गरिनेछ,’ उनले भने ।