दिव्या स्पीचले अभिभावकसँग मनायो तीज
बिर्तामोड । दिव्या स्पीच एण्ड हेयरिङ रि–ह्याबिलिटेसन सेन्टरले तीज कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरले शुक्रबार अभिभावकसँग बिर्तामोडको होटल सिद्धार्थ ग्राण्ड सिटीमा तीज कार्यक्रम मनाएको हो ।
सेन्टरले हिन्दु महिलाहरुको महान् पर्व तीज अभिभावकहरुसँग विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा सेन्टरका कर्मचारी तथा अभिभावकहरुले नृत्य तथा खेल प्रस्तुत गरेका थिए । अभिभावकहरुले एकल तथा युगल प्रतिष्पर्धात्मक नृत्य प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले बर्षभरी घर व्यवहारबाट थकित भएका महिला दिदीबहिनीहरुको दाजुभाईसँग भेटघाट गरी रमाइलो गर्ने पर्व तिज भएको भन्दै कार्यक्रम सफलताको शुभकामना दिइन् ।
कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, महिला तथा प्रसुती रोग विशेषज्ञ डा. अजय अग्रवाल र बाल रोग विशेषज्ञ डा. ज्योती अग्रवाललगायत अतिथी रहेका थिए ।
कार्यक्रममा नृत्य नृत्य प्रस्तुत गर्नेहरुलाई संस्थाका अध्यक्ष मनोज यादवले उपहार स्वरुप विभिन्न फुलका बिरुवा प्रदान गरेका थिए । कार्यक्रम अभिभावक खगेन्द्र लिङ्देन र कर्मचारी अञ्जली लिम्बूले संयुक्त रुपमा संचालन गरेका थिए ।