डाक्टर कोइरालाको शव दस दिनपछि फेला
बिर्तामोड । बेपत्ता भएको १० दिनपछि डा. प्रज्वल कोइरालाको शव सुनसरीको वराहक्षेत्र-२ स्थित काेशीकाे भंगालोमा भेटिएको छ ।
झापाको दमक नगरपालिका-१ का डा. कोइराला उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ८ स्थित एक होटेल अगाडि गाडी राखेर सुनसरी र उदयपुर जिल्ला जोड्ने कोशी पुलमा मोबाइल, जुत्ता राखेर बेपत्ता भएका थिए ।
प्रहरीले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको डा. कोइरालाको मृत शरीर मङ्गलवार बराहक्षेत्र नगरपालिका वडा नं. २ काे काेशीकाे भंगालाे छुटेर टापु बनेको क्षेत्रमा भेटिएको हो ।
माछा मार्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दाे भएको विपद् व्यवस्थापनमा समेत कार्य गर्दै आएका भएका सुरक्षा बेस चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।
डा. कोइराला भाद्र १० गते आइतबार बेलुका ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएका र सिसि टिभीको फुटेज अनुसार सोही दिनको राति २ बजे कोशी पुल नजिकै गाडी राखेर बेपत्ता भएका थिए । हराएको थाहा पाउना साथ भाद्र ११ गतेदेखि खोजी कार्य भएन पनि कोशीमा पानीको बहाव उच्च भए पछि खोजी कार्य प्रभावित बनेको थियो । सीसी टिभि फुटेज, मोबाइल कल डिटेल्स र प्रेमिका युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शव फेला परे पछि प्रहरीले डाक्टर कोईरलाको आफन्तलाई खबर गरेको थियो । बुवा दिवाकर कोइराला र दमक नगरपालिका वडा नं. १ का अध्यक्ष हरिप्रसाद न्याैपानेले भेटिएको शव डाक्टर कोईरालाकै हो भनेर पुष्टि गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अन्तिम समयमा उनको प्रेमिका भनिएकी एक युवतीसँग कुराकानी भएको देखिन्छ । ती युवतीसँग बयान लिँदा दुई जना बिच प्रेम भएको समेत पाईएको छ । प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।