लागूपदार्थ दुर्व्यशनी विरुद्ध सचेतना कार्यक्रम
अर्जुनधारा । झापाको अर्जुनधारामा लागूपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको सहयात्रा ग्रुप नेपालले अर्जुनधारा नगरपालिका–३ को जनता माविमा लागूपदार्थ दुव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखा र ईलाका प्रहरी कार्यालय अनरामनी बिर्तामोडको सहकार्यमा संचालन भएको कार्यक्रममा किशोर अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरेर अभिमुखीकरण गरिएको थियो । जनता माविको सभाहलमा भएको कार्यक्रममा करिब २ सय ५० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
सचेतना कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्की, सहयात्रा ग्रुप नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम कट्टेल, लागूपदार्थ दुव्र्यशनीविरुद्धको अभियान्ता कृष्ण गौतम र अभियान्ता तथा पूर्व लागुऔषध प्रयोगकर्ता उत्सव ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा लागूपदार्थ भनेको के हो, प्रयोगपछिको असर, लागूपदार्थको प्रयोग र कारोबारविरुद्धमा लागूहुने कानुन लगायतका बिषयमा विद्यार्थीहरुलाई प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी गराएका थिए । त्यस्तै अभियान्ता ढकालले लागूपदार्थको प्रयोगबाट आफुले भोग्नुपरेको समस्या, जिवनमा त्यसको प्रभावलगायतका बिषयलाई समेटेर अनुभव सुनाएका थिए ।
सहयात्रा ग्रुप नेपालका अध्यक्ष तथा संचारकर्मी तिलक योञ्जनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी अर्जुनधारा नगरपालिका–३ नम्बर वडाका अध्यक्ष सिताराम भट्टराई र विद्यालयका प्रधानाध्यापक जयप्रकाश भण्डारीले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष योञ्जनले पछिल्लो समय सामाजिक समस्याको रुपमा बढ्दै गएको लागूऔषध प्रयोगलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम महत्वपुर्ण हुने धारणा राखे । उनले लागूपदार्थ प्रयोगकर्ता बनेको एक व्यक्तिलाई प्रयोगमुक्त बनाउन धेरै समय, स्रोत साधन र लगानी गर्नुपर्ने अवस्था रहेको बताए । लागूपदार्थ प्रयोगकर्ता कतिपय व्यक्ति पुनः सामान्य अवस्थामा आउनै नसकेका घटनाहरु सिर्जना भइरहेको अवस्थामा किशोर किशोरीहरुलाई लागूपदार्थ दुव्र्यशनीमा प्रवेश गर्न नदिन सचेतना कार्यक्रम आयोजना गरिएको उनले बताए । एक विद्यार्थी सजग भएमा घरपरिवार र समाजलाई नै सजग पार्न सक्ने भएकाले विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम गरिएको उनको भनाई थियो ।
नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति तथा सहयात्रा ग्रुपका सदस्य मुकुन्द भण्डारीले कार्यक्रम आयोजनाको औचित्यमाथि प्रकाश पारेका थिए । संस्थाका सचिव मदन भट्टराई (जितु)ले संचालन गरेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य राजु खड्काले स्वागत गरेका थिए ।
अभिमुखीकरण कार्यक्रमअघि नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाको तर्फबाट सोही विद्यालयका ६१ जना विद्यार्थीहरुलाई कपि, पेन लगायतका शैक्षिक सामाग्री र कक्षा कोठामा आवश्यक पर्ने सरसफाई सामाग्री प्रदान गरिएको थियो । उत्कृष्ट २ जना शिक्षक र एकजना विद्यालयका कर्मचारीलाई कार्यक्रममा पुरस्कार बितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भण्डारीले उक्त सामाग्री तथा पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा विद्यालयको बाल क्लबलाई सहयात्रा ग्रुपको तर्फबाट बाल क्लबको ब्याज प्रदान गरिएको थियो ।