प्रदेश सांसदका छोरासहित तीन जना पक्राउ
मेचीनगर । मेचीनगर–१० स्थित धुलाबारीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागू औषध कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले हिमाल बजगाई, नवी मिया चुरौटे र स्मृति लिम्बूलाई पक्राउ गरेको हो ।
२५ बर्षीय हिमाल बजगाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित मेचीनगरकी प्रदेश सांसद सबिना बजगाईका छोरा हुन् ।
प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजाको कारोबार गरिरहेको अवस्थामा मेचीनगर–१० का ३४ बर्षीय चुरौटे, बजगाई र २५ बर्षीया लिम्बूलाई पक्राउ गरेको हो ।
बिशेष सूचना पाएर इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले नवी मियाको घरमा छापा मार्दा १ केजी ७०० ग्राम गाँजा फेला परेको थियो । गाँजालाई प्याकेटमा हालेर बिक्री गर्नका लागि तयारी अवस्थामा राखिएको थियो । प्रहरी स्रोतका अनुसार लागूऔषध राखिएको कोठामा तीनैजना फेला परेका थिए ।
ती तीनैजनालाई पक्राउ गरी इप्रका धुलावारी लगिएको छ । मिया लागूऔषधको कारोवारी भएकाले उनलाई थप अनुसन्धान गर्ने र अन्यलाई मनोपरामर्श कक्षामा सहभागी गराई छाडिने जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।