हिजो बेलुका भएको अलग अलग दुर्घटनामा परी दुई जनाको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोडस्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा गएराति पौने एक बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई युवा गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा झापाको कनकाई नगरपालिका ५ का २६ वर्षीय सागर घिमिरे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घिमिरे बिर्तामोडस्थित माछापुच्छ्रे बैँकका कर्मचारी हुन् ।
घटनामा भद्रपुर-१० का २९ वर्षीय सरोज बस्नेत र २८ वर्षीय सकिन न्यौपाने गम्भीर घाइते भएका छन् । बस्नेत लक्ष्मी सनराइज बैँकका कर्मचारी हुन् । उनको बीएण्डसी अस्पतालमा भेण्टिलेटरमा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ५ प ५५६८ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०१-०१३ प ५१४० नम्वरको मोटरसाइकल बिर्तामोडको सञ्जीवनी अस्पताल अगाडि राजमार्गमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो । अस्पताल लगिए लगत्तै चिकित्सकले घिमिरेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै बुधबार साँझ सात बजे शिवसताक्षी-१० मा भएको दुर्घटनामा परि बाह्रदशी-५ बस्ने १८ बर्षीया जेसिका सिग्देलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे३प ५४६३ ले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भइ विपरित दिशाबाट आइरहेको को३१प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा घाइते भएका मे३प ५४६३ नम्बरको मोसा चालक भद्रपुर-९ निवासी ४० बर्षीय रुद्रप्रसाद न्यौपाने र पछाडी सवार सिग्देललाई बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा सिग्देलको मृत्यु भएको प्रहरीले जनाएको छ । सिग्देलले भर्खरै महेन्द्र रत्म मावीबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन । चालक न्यौपानेको अवस्था सामान्य रहेको छ ।
अर्को मोसा को३१प ९५२९ का चालक दमक १ का ४० बर्षीय सुरेस राई र चुलाचुली-४ निवासी २९ बर्षीया निश्चल चेम्जोङको बीएण्डसी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर खाने साइकलयात्री अर्जुनधारा- ५ निवासी ६३ बर्षीय गंगा तामाङ स्थानीय मेडिकलमा उपचार गराएर घर गएका थिए ।