फोनिज झापाले मनायो २४ औँ स्थापना दिवस, अक्षयकोषमा गायिका मेलिना राईद्वारा ५० हजार सहयोग
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४औं स्थापना दिवस मनाएको छ ।
बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवसमा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्य बिषयमा अन्तरसंवादसमेत भएको थियो ।
फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातिय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानको मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष तथा प्रमुख अतिथि कमन देवानले नेपालमा ३५ सय आदिवासी जनजाति पत्रकारहरु फोनिजमा आवद्ध भएको र ८ वटा मुलुकमा फोनिजले संगठन बिस्तार गरेको जानकारी दिए । देवानले आदिवासी जनजातिको पहिचान रक्षाको सन्दर्भमा फोनिजले खेलेको भुमिका महत्वपूर्ण रहेको धारणा राखे । उनले अहिले भइरहेको पहिचानको आन्दोलनमा फोनिजकर्मीहरुले स्पष्ट रुपमा पहिचानको पक्षमा कलम चलाउनु पर्नेमा जोडदिए ।
त्यस्तै कार्यक्रमका बिषेश अतिथि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले फोनिज र नेफिनबिच विभिन्न अन्तरसंवाद भइरहेपनि आवश्यक समन्वय भने हुन नसकिरहेको गुनासो गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश समितिका महासचिव शुसन राईले पहिचान विरुद्धमा प्रदेशको नामकरण हुँदा मत हाल्ने सबै राजनैतिक दललाई एउटै आँखाले हेुर्नपर्ने धारणा राखे । उनले ठुला दलहरुले पहिचान पक्षधरलाई वेवास्ता गर्दै गरिएको प्रदेशको नामकरण स्वीकार्य हुन नसक्ने बताए ।
कार्यक्रममा फोनिज (तत्कालिन अनिज) झापाका संस्थापक अध्यक्ष दिपिन राईले कार्यक्रमको बिषय तथा उदेश्यबारे प्रष्ट्याएका थिए । उनले पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्यमा जोड दिदै अवको मार्ग तय गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहकार अनिलदेव राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खा जिल्ला सदस्य गौरीमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले धारणा राखेका थिए ।
फोनिज झापाको अक्षयकोषमा गायिका मेलिना राईद्वारा ५० हजार सहयोग
२४औं स्थापना दिवसको अवसर पारेर चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अक्षयकोषका लागि ५० हजार रुपैँया सहयोग गरेकीछन् । कार्यक्रममा गायिका राईको तर्फबाट उक्त रकम बराबरको चेक संचारकर्मी सजन राईले अक्षयकोषका संयोजक गणेशमान मुखियालाई हस्तान्तरण गरे ।
फोनिज झापाले आफना अग्रज पत्रकार स्व. डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा गायिका राईले उक्त रकम सहयोग गरेकीहुन् । अक्षयकोषबाट प्राप्त हुने ब्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान पुर्याएवापत एक जना पत्रकारलाई ‘स्व.डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिँदै आएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लिम्बुले बताइन् ।