मन्त्री किरातीलाई पितृ शोक, अन्तिम संस्कार पुर्ख्यौली गाउँमा गरिने
बिर्तामोड । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान ४ बजेर ४२ मिनेटमा निधन भएको उनको सचिवालयले जनाएको छ ।
राईको काठमाण्डौको वीर अस्पतालमा उपचार भइरहेको थियो । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । उनकी आमाको यसअघि नै निधन भइसकेको थियो ।
मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निस्शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली !’
उनको पार्थिक शरिरलाई ११ बजेसम्म सरकारी निवास पुलचोकमा राखिने स्वकीय सचिव राजन साम्पाङ्ले जनाएका छन् । स्वर्गीय राईको इच्छा अनुसार अन्तिम संस्कार भने भोजपुरस्थित पुर्ख्यौली गाउँमा गरिने मन्त्री किरातीको सचिवालयले जनाएको छ ।